- बुद्धशान्ति गाउँपालिका वडा नं. २ को कार्यालय भवन निर्माणका लागि जग्गा दिने बोहोरा दम्पतीको शालिक अनावरण गरियो।
- अध्यक्ष मनोजकुमार प्रसाईंद्वारा शालिक अनावरण गर्दै निःस्वार्थ दान गर्ने दाताहरूको योगदान अतुलनीय रहेको बताए।
- कार्यक्रम पालिका उपाध्यक्ष, वडाध्यक्ष, स्थानीयबासी र जग्गादाता परिवारको उपस्थितिमा सम्पन्न भएको थियो।
2झापा- झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. २ को कार्यालय भवन निर्माणका लागि बहुमूल्य जग्गा दान गर्ने दाता दम्पती स्व. टेकबहादुर बोहोरा र स्व. जोगमाया बोहोराको शालिक अनावरण गरिएको छ।
शुक्रबार बिहान वडा कार्यालय भवनको प्रांगणमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त शालिकको अनावरण गरिएको हो। बोहोरा दम्पतीले वडा कार्यालय भवन निर्माणका लागि चल्ती मूल्य अनुसार करिब १ करोड रुपैयाँ बराबरको दुई कट्ठा जग्गा निःशुल्क दान गरेका थिए।

निर्मित शालिकको अनावरण बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोजकुमार प्रसाईंद्वारा गरिएको थियो। शालिक अनावरण गर्दै अध्यक्ष प्रसाईंले निःस्वार्थ भावनाले सामाजिक कार्यका लागि आफ्नो अमूल्य सम्पत्ति दान गर्ने दाताहरूको योगदान अतुलनीय रहने बताए।
उनले जग्गादाता बोहोरा परिवारले देखाएको यो उदारता र प्रेरणादायी कार्यबाट समाजका अन्य नागरिकहरूले पनि सकारात्मक पाठ सिक्नुपर्नेमा जोड दिए।

उक्त शालिक अनावरण तथा सम्मान कार्यक्रम पूर्व वडाध्यक्ष दिलिप श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा पूर्व जनप्रतिनिधि नेत्र गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा पालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडा, कार्यवाहक वडाध्यक्ष सञ्जु पौडेल, वडासचिव ईन्द्र बजगाईं, वडा सदस्यहरू तथा स्थानीयबासीहरूको उपस्थिति रहेको थियो। जग्गादाता परिवारको तर्फबाट लक्ष्मी बोहोरा तथा प्रेम बोहोराको विशेष उपस्थिति रहेको थियो।
उक्त शालिक बुद्धशान्ति गाउँपालिकाको आर्थिक बजेट र उपभोक्ता समितिमार्फत सम्पन्न गरिएको हो।
गाउँपालिका बजेट चार लाख तथा जनश्रमदानबाट ५८ हजार ६३७ रुपैयाँ, कन्टिन्जेन्सी कट्टा ४ हजार गरी जम्मा कुल लागत ४ लाख ५४ हजार ६३७ मा शालिक निर्माण सम्पन्न गरिएको हो।
कार्यक्रममा वडा कार्यालयको तर्फबाट जग्गादाता परिवारलाई सम्मान पनि गरिएको थियो।

भर्खरै
लोकप्रिय
