- इलामको माई नगरपालिका–६ मा रिखुवा खोलामा पक्की पुल बनेसँगै यातायात सञ्चालनमा आइसकेको छ ।
- पुल निर्माण सामयिक रूपमा सम्पन्न भएको र यसले स्थानीय तहका बासिन्दालाई प्रत्यक्ष लाभ दिएको छ ।
- मौसममा खोलामा बाढी आउँदा आवतजावत ठप्प हुने समस्या सधैँका लागि अन्त्य भएको बताइएको छ ।
इलाम- इलामको माई नगरपालिकादेखि माङसेबुङ गाउँपालिकाको धार्मिकस्थल लारुम्बा जोड्ने आत्मानन्द मार्गअन्तर्गत रिखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ ।
माई नगरपालिका–६ मा पर्ने यस खोलामा पुल बनेसँगै यातायात सञ्चालनमा समेत आइसकेको छ ।
सङ्घीय सरकारअन्तर्गत पुल सेक्टर धरानको ३० करोड ६४ लाख ८४ हजार रुपैयाँको लागतमा यो पुल निर्माण भएको हो ।
३३ करोड ९८ लाख २२ हजार ५८९ रुपैयाँमा ठेक्का खुलेकोमा निर्माण कम्पनी ‘शान्ति निर्माण सेवा’ले घटाघटमा सम्झौता गरी निर्धारित समयभन्दा अगावै काम सकेको आयोजना प्रमुख इन्जिनियर आशिष थापा मगरले बताए ।
२०७९ पुस ३० गते भएको सम्झौताअनुसार पुल निर्माण गर्ने अवधि २०८३ असार ३० गतेसम्म थियो । अन्य आयोजनाहरूमा पटक-पटक म्याद थप्दा पनि काम नसकिने गुनासो आउने गरेको अवस्थामा यस पुलको काम समयभन्दा पहिल्यै सकिनु सकारात्मक पक्ष भएको आयोजना प्रमुख मगरले उल्लेख गरे ।
पुल सेक्टरका इन्जिनियर हरि मण्डलका अनुसार यो पक्की पुल २०० मिटर लामो र ११ मिटर चौडा छ ।
पुल बनेपछि माङसेबुङका बासिन्दालाई झापाको विर्तामोड आउन-जान र अन्य क्षेत्रका नागरिकलाई धार्मिक स्थल लारुम्बा भ्रमण गर्न सहज भएको माई नगरपालिकाका प्रमुख खम्बासिंह लिम्बूले बताए ।
यसअघि पुल नहुँदा वर्षायाममा खोलामा बाढी आउने र आवतजावत पूर्ण रूपमा ठप्प हुने गरेको थियो । विशेषगरी बिरामी, गर्भवती महिला र विद्यार्थी मारमा पर्ने गरेका थिए ।
पुल सञ्चालनमा आएसँगै वर्षौंदेखिको यो समस्या सधैँका लागि अन्त्य भएको माई नगरपालिका–६ का स्थानीय बुधराज योङहाङले बताए । पुल निर्माणबाट दुवै स्थानीय तहका सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् ।
भर्खरै
लोकप्रिय
