- प्रमुख प्रतिपक्षी दल कांग्रेसले आत्मदाहमा सरकारको मौनता बारे प्रश्न उठाउँदै कडा आलोचना गरेको छ।
- कांग्रेस प्रमुख सचेतक थापाले नागरिक सुरक्षासँग सम्बन्धित राज्यको विफलताको उदाहरण भन्दै सरकारको निष्क्रियता औँल्याइन्।
- नयाँ सरकार आए पनि आत्मदाह र आत्महत्याका घटनाहरू रोकिएनन् भनी थापाले गम्भीर आरोप लगाइन्।
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल कांग्रेसले आत्मदाह प्रयास गरी ज्यान गुमाएका २५ वर्षीय गणेश नेपालीको निधनको विषयलाई लिएर सरकारको आलोचना गरेको छ।
शुक्रबार संसदको सुरुमै कांग्रेस प्रमुख सचेतक वासना थापाले २०७९ माघ १० गते नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रेम आचार्यले गरेको आत्मदाह र त्यस समयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लेखेको स्टाटसको स्मरण गरिन्।
थापाले प्रधानमन्त्रीलाई प्रश्न गर्दै हिजोको उक्त घटनामा सरकारको मौनता किन भन्दै प्रश्न गरेकी छिन्। विपक्षमा रहँदा राज्यको असफलतामाथि कडा प्रश्न उठाउने तर अहिलेआफैं सरकारको नेतृत्वमा पुग्दा ती प्रश्नहरूको जवाफ दिनबाट किन पन्छिएको भन्दै थापाले आपत्ति जनाइन्।
थापाले राज्य आतंकका कारण एक युवाले आफ्नो शरीरमा आगो सल्काउँदा समेत राज्य मूकदर्शक बनेको र उद्धार गर्नुको साटो प्रहरी प्रशासन लगाएर अपराधीलाई जस्तै घिसारेर लगेको भन्दै आपत्ति जनाइन्।
उनले सरकारलाई प्रश्न गरिन्, ‘यो उद्धार हो कि गिरफ्तारी हो? के उनी देशद्रोही हुन ? उनले कसको विरुद्ध के अपराध गरेका थिए?’
युवाहरूले आफ्नै देशमा केही गर्ने संकल्पका साथ काम गरिरहेको अवस्थामा यो नियति भोग्नुपरेको उल्लेख गर्दै उनले सरकार जनताको ज्यान जोगाउनुभन्दा पनि सामाजिक सञ्जालमा लाइकु बटुल्ने र डिजिटल मोहमा मात्र केन्द्रित भएको आरोप लगाइन्।
नयाँ सरकार आए पनि यस्ता आत्मदाह र आत्महत्याका श्रृंखला नरोकिएको भन्दै उनले केही समयअघि सुकुम्बासी उठीबासका कारण रबिन तामाङ, इन्द्रबहादुर राई र हिजो मात्रै धोबीखोलामा हामफालेर ज्यान गुमाउने सुकुम्बासी महिलाको उदाहरण दिइन्।
प्रमुख सचेतक थापाले अब ुकालो चस्मा खोल्ने बेला आएको र साझा यातायातको हरियो बसलाई निलो रङ पोतेर मात्रै नागरिकले सुरक्षाको महसुस गर्न नसक्ने टिप्पणी गरिन्।
थापाले भनिन्, ‘सुकुमवासीलाई उठीबास लगाएर १७ वर्षीय रविन तामाङ र ६१ वर्षीय इन्द्रबहादुर राईले आत्महत्या गरेका थिए । हिजो पनि धोबीखोलामा हाम फालेर मृत्युवरण गरेको समाचार आएको अझै पहिचान हुन बाँकी छ। प्रधानमन्त्रीज्यू, राज्य साँच्चै यति निरीह र असफल भइसकेको हो ? अब कालोचस्मा खोल्ने बेला आएको छ । साझा यातायातको हरियो रङलाई पोतेर नागरिकको सुरक्षा महसुस गरिँदैन।’
नागरिकले सुरक्षा तब मात्र महसुस गर्छन् जब राज्यले न्याय दिन्छ, रोजगारी सिर्जना गर्छ, सुशासन कायम गर्छ र भविष्यप्रति भरोसा जगाउँछ भन्दै उनले सवारी साधनमा लगाइएको चर्को जरिवाना ठीक छ कि छैन भनेर बुझ्न एकपटक मृतक गणेश नेपालीको अनुहार हेर्न सरकारलाई आग्रह गरिन्।
भर्खरै
लोकप्रिय
