- फोटो पत्रकार नरेन्द्र श्रेष्ठको तस्बिरले ‘वर्ल्ड प्रेस फोटो प्रतियोगिता- २०२६’मा उत्कृष्ट तस्बिरको रूपमा पहिलो स्थान हासिल गर्यो।
- यस प्रतियोगितामा विश्वका १ सय ४१ देशका ३ हजार ७ सय ४७ फोटोग्राफरले सहभागिता जनाएका थिए।
- युरोपेनियन प्रेस एजेन्सीमा काम गर्दै आएका श्रेष्ठले २६ वर्षदेखि फोटो पत्रकारितामा योगदान पुर्याउँदै आएका छन्।
‘वर्ल्ड प्रेस फोटो प्रतियोगिता- २०२६’मा नेपालका फोटो पत्रकार नरेन्द्र श्रेष्ठले खिचेको फोटो उत्कृष्ट भएको छ।
भदौ २४ गते भएको जेन-जी आन्दोलनमा सिंहदरबार जल्दै गरेको र त्यस परिसरमा भएमा आन्दोलनकारीसहितको दृष्यलाई उनले आफ्नो क्यामेरामा कैद गरेका थिए, जुन ‘वर्ल्ड प्रेस फोटो प्रतियोगिता’मा सर्वोत्कृष्ट तस्बिर बन्न पुग्यो।
नेपालबाट युरोपेनियन प्रेस एजेन्सीका लागि काम गर्दै आइरहेका श्रेष्ठले विगत २६ वर्षदेखि फोटो पत्रकारिता गर्दै आएका छन्। युरोपेनियन प्रेस एजेन्सीले विश्वका उत्कृष्ट फोटोहरुलाई किताबको रूप दिँदै आउने गरेको र त्यसमा आफ्नो फोटो छापिएको हेर्ने रहरले उनले यस प्रतियोगितामा भाग लिएको देशसञ्चारसँग बताए।
‘वर्ल्ड प्रेस फोटो प्रतियोगिताबाट दक्षिण एसिया क्षेत्रको लागि एकल श्रेणीमा पहिलो नेपालको फोटो परेकोमा सरप्राइज नै ठानेको छु,’ उनले भने, ‘खासमा आफ्नो फोटो किताबमा छापिन्छ भन्ने लोभले अप्लाइ गरेको थिएँ।’
उनले २०२६ को जनवरीमा यस फोटो प्रतियोगितामा सहभागी गराएका थिए।
प्रतियोगितामा विश्वका १ सय ४१ देशको ३ हजार ७ सय ४७ फोटोले सहभागिता जनाएका थिए। ५ हजार ७०० फोटोहरुले प्रतिष्पर्धा गरेका बताउँछन् श्रेष्ठ।
विभिन्न श्रेणीमा पुरस्कृत गर्दै आएको वर्ड प्रेस फोटो प्रतियोगिताले दक्षिण एसियाबाट श्रेष्ठलाई छानेको हो। श्रेष्ठका अनुसार १ हजार युरोका साथ दिइने यो पुरस्कारले फोटो पत्रकारितामा थप उर्जा थपेको छ।

भर्खरै
लोकप्रिय
