जनकपुरधाम – विभिन्न ग्रुप बनाई गालीगलौज, धम्कीयुक्त तथा ट्राफिक नियम उल्लंघन गरी बनाइएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेको आरोपमा २५ जना पक्राउ परेका छन्। सिरहा–चोहर्वा सडक खण्डमा प्रहरीको नियमित चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
सप्तरीको बलानबिहुल गाउँपालिकाका १२ जना तथा सिरहाको लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना र भगवानपुर गाउँपालिकाका ५ जना गरी २५ जना युवाहरूलाई २१ थान मोटरसाईकलसहित नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए।
किंग्स अफ बालेन, किंग अफ भगवानपुर, किंग अफ लहान, किलर ब्रदर्श जस्ता ग्रुपहरुको नाममा टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा युवाहरूको समूह बनाई विभिन्न किसिमका गालीगलौज र धम्कीयुक्त भिडियोहरू उनीहरुले पोस्ट गर्ने गरेका थिए भने ट्राफिक नियमको उल्लंघन गरी बिना हेल्मेट, कागजपत्र तथा बिना नम्बर प्लेटको प्रत्येक मोटरसाईकलमा ३/४ जना सवार युवा राजमार्गमा हो–हल्ला तथा सामाजिक शान्ति भंग गरी समाजमा आतंक मच्चाइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भर्खरै
लोकप्रिय
