- चलचित्र ‘लालीबजार’ बर्ष २०८३ को सबैभन्दा बढी कमाइ गर्ने नेपाली चलचित्र सावित भएको छ।
- ‘लालीबजार’ ले ७ करोड ९० लाख रुपैयाँ भन्दा बढी कमाउदा १ लाख ९६ हजार टिकट बिकेका छन्।
- ‘परालको आगो’ र ‘मितज्यू’ ले राम्रो व्यापार गरेपनि ‘काजी’ र ‘मालती मङ्गले’ ले अपेक्षित कमाइ गरेनन्।
काठमाडौँ- यस वर्ष (२०८३ साल) प्रदर्शनमा आएका नेपाली चलचित्रहरूमध्ये ‘लालीबजार’ सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ।
चलचित्र विकास बोर्डको ‘सिनेपा–२ बक्सअफिस’ प्रणालीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, गत जेठ १६ गते शनिबारसम्म यस चलचित्रले रु. ७ करोड ९० लाख ३१ हजार ४७६ संकलन गरिसकेको छ।
गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रका लागि हालसम्म कुल १ लाख ९६ हजार ४०६ टिकट बिक्री भइसकेका छन्।
अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको यस चलचित्रको सफलताले निर्माण टोली निकै उत्साहित छ। अभिनेता रवीन्द्रसिंह बानियाँले दर्शकको अभूतपूर्व मायाले मेहनतको फल मिलेको बताए।
मनोरञ्जनका साथै शिक्षाको महत्त्व र यसले समाजमा पार्ने प्रभावलाई उठान गरिएको यस चलचित्रमा बानियाँका साथै समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा र प्रसंशा सुवेदी लगायतको जीवन्त अभिनय रहेको छ।
यस वर्ष प्रदर्शनमा आएका अन्य चलचित्रहरूमध्ये गत वैशाख ११ गते रिलिज भएको ‘परालको आगो’ले पनि घरेलु बजारमा राम्रो व्यापार गरेको छ।
सुशील पोखरेलद्वारा निर्मित तथा लक्ष्मण सुनारद्वारा निर्देशित यस चलचित्रले रु. ४ करोड २७ लाख ८४ हजार ४४५ कमाउन सफल भएको छ, जसका लागि कुल १ लाख ५४ हजार ३४ टिकट बिक्री भएका छन्। चलचित्रमा प्रकाश सपुत, सुहाना थापा र सौगात मल्ल मुख्य भूमिकामा छन्।
त्यस्तै, जेठ ८ गतेदेखि प्रदर्शनमा आएको अनिल बुढा मगर निर्देशित चलचित्र ‘मितज्यू’ले सुरुवाती सातामै रु. १ करोड २० लाख ५९ हजार ८२ को सन्तोषजनक कमाइ गरेको छ।
दयाहाङ राई, सौगात मल्ल र टेरिया फौजा मगर स्टारर यस चलचित्रका लागि ४१ हजार २४८ टिकट बिक्री भइसकेका छन्।
बहुप्रतीक्षित मानिएका कतिपय चलचित्रले भने बक्सअफिसमा सोचेजस्तो जादु चलाउन सकेका छैनन्। जेठ ८ मै रिलिज भएको विपिन कार्की र केकी अधिकारी अभिनीत ग्रामीण प्रेमकथामा आधारित चलचित्र ‘काजी’ले पहिलो साता मात्र रु. ४० लाख ८८ हजार १७५ को व्यापार गरेको छ।
यस्तै, वैशाख २५ मा रिलिज भएको वर्षा राउत स्टारर ‘मालती मङ्गले’ले रु. ५१ लाख ७३ हजार ७९३ र मिथिला शर्मा तथा गौरी मल्ल अभिनीत ‘गुरु आमा’ले रु. २९ लाख ४२ हजार ५७६ मात्र कमाउन सकेका छन्।
जेठ १ गतेदेखि प्रदर्शनमा आएको सुरक्षा पन्त स्टारर फेन्टासी कमेडी ड्रामा ‘लाइफ ड्यामेज’ले रु. ३३ लाख २६ हजार ३२० को व्यापार गर्दा, सोही मितिमा रिलिज भएको आँचल शर्मा अभिनीत ‘एक मुठ्ठी बादल’ले भने मात्र रु. ५ लाख २१ हजार ८२५ जोड्न सफल भएको छ।
चलचित्र विकास बोर्डले हरेक सोमबार बक्सअफिसको आधिकारिक विवरण सार्वजनिक गर्ने क्रममा यस वर्षको जेठ मध्यसम्म ‘लालीबजार’ नै व्यावसायिक रूपमा सबैभन्दा अगाडि देखिएको पुष्टि गरेको हो।
भर्खरै
लोकप्रिय
