मोरङ – विराटनगरस्थित बाल कल्याण विद्या मन्दिर (बिकेभिएम)ले ५६ जना विद्यार्थीलाई २० लाख रुपैयाँ बराबरको छात्रवृत्ति तथा पुरस्कार वितरण गरेको छ।
शनिबार विद्यालयमा आयोजित वार्षिक पुरस्कार वितरण तथा स्वागत कार्यक्रममा विद्यालयबाट एसइईमा ४ जिपिए हालिस गर्ने र विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पुरस्कारसहित छात्रवृत्ति वितरण गरिएको हो।

कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका ३८ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ। विद्यालय प्रशासनका अनुसार छात्रवृत्ति हासिल गर्ने विद्यार्थीहरू कक्षामा पहिलो, दोस्रो र तेस्रो स्थानमा आउन सफल भएका थिए।
त्यसैगरी, २०८२ सालको एसइई परीक्षामा विद्यालयबाट ४ जिपिए हासिल गर्ने १८ जना विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो।
कार्यक्रममा विराटनगरस्थित राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालयका निर्देशक प्रकाशकुमार खरेलले शैक्षिक हब बन्दै गएको विराटनगरमा बिकेभिएमले फरक पहिचान स्थापित गरेको बताए। विद्यार्थीको उज्जवल भविष्य निर्माण गर्नका लागि विद्यालयले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए।

निर्देशक खरेलले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक ज्ञानसँगै व्यहावरिक र अतिरिक्त ज्ञानसमेत हासिल गरेको बताए। विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूले शिक्षासँगै गीतसंगीत, खेलकुद, नृत्यजस्ता कुरामा समेत विशेष दख्खल राखेको उल्लेख गरे।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल रविनकुमार दाहालले एसइईमा राम्रो नतिजा ल्याएका विद्यार्थीहरूलाई थप उच्च शिक्षा हासिल गर्न शुभकामना दिए।

विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीबाट धेरै कुरा सकिने बताउँदै उनले हाल विद्यालयमा अध्ययनरत र नयाँ विद्यार्थीले आफ्नो अध्ययनलाई विशेष महत्व दिनुपर्नेमा जोड दिए। कार्यक्रममा नर्सरीदेखि विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले गीतसंगीत र नृत्य प्रदर्शन गरेका थिए।

भर्खरै
लोकप्रिय
