- रसियाले बिहीबार राति किभमा ड्रोन र मिसाइलबाट गरेको आक्रमणमा १० जनाले ज्यान गुमाएका छन् भने सयौँ घाइते भएका छन्।
- युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले ठूलो आक्रमणको तयारी गरिरहेको बताएका केही घण्टापछि लगातार विस्फोट भएको थियो।
- रुसको रक्षा मन्त्रालयले युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमणको जवाफमा मात्र ऊर्जा संरचनालाई निशाना बनाएको दाबी गरेको छ।
रसियाले बिहीबार राति युक्रेनको राजधानी किभमा ठूलो आक्रमण गरेको छ। ड्रोन र मिसाइलमार्फत गरेको ब्यापक आक्रमणमा परी कम्तीमा १० जनाले ज्यान गुमाएका छन् भने सयौँ मानिस घाइते भएको जनाइएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले विशाल आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टापछि राजधानीका विभिन्न क्षेत्रमा विस्फोट भएका थिए। लगातार आक्रमण भएपछि धेरै बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो।
किभ सैन्य प्रशासनका प्रमुख तिमुर ट्काचेन्कोकाअनुसार घाइते हुनेहरूको संख्या उल्लेखनीय रहेको छ र तीमध्ये बालबालिकासमेत परेका छन्। उनले भने, ‘शत्रुले फेरि पनि जानाजानी आवासीय क्षेत्रमा आक्रमण गर्दै निर्दोष सर्वसाधारणको ज्यान लिइरहेको छ।’
यता, रुसको रक्षा मन्त्रालयले भने हालै युक्रेनले रुसका ऊर्जा पूर्वाधारमा गरेका आक्रमणको जवाफस्वरूप आफूहरूले ऊर्जा सम्बन्धी संरचनालाई मात्र निशाना बनाएको दाबी गरेको छ।
बिहानी उज्यालोसँगै राजधानीका सडकमा विस्फोटले बनाएको ठूलो खाल्डो, जलेका सवारीसाधन, ध्वस्त भवन र भग्नावशेषका दृश्य देखिएका छन्। शहरका विभिन्न स्थानमा आगलागी भएको छ। एउटा एम्बुलेन्स केन्द्रमा समेत क्षति पुगेको छ, जहाँ कम्तीमा एक जना गम्भीर घाइते भएका छन्। राजधानीको मुख्य सडकमा रहेको एउटा होटलमा लागेको भीषण आगो निभाउन दमकलकर्मीहरू रातभर खटिएका थिए।
रातभर हवाई प्रतिरक्षा प्रणालीले आकाशमा ट्रेसर फायर चलाएको देखिन्थ्यो भने ड्रोन, क्रुज मिसाइल र ब्यालेस्टिक मिसाइलका लगातार विस्फोटले राजधानी थर्किएको थियो। कीभका मेयर भिटाली क्लिच्कोले हालसम्म १० जनाको मृत्यु भएको पुष्टि गर्दे उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने बताए।
युक्रेनका अमेरिकास्थित राजदूत ओल्हा स्टेफानिशिनाले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘कीभका बासिन्दाले फेरि एक भयावह रात भूमिगत आश्रयस्थलमा बिताउन बाध्य भए। शहरका धेरै जिल्लामा आवासीय भवन र नागरिक पूर्वाधारमा आगलागी तथा ठूलो क्षति पुगेको छ।’
यो रुसले दुई साताभन्दा बढी समयपछि युक्रेनमाथि गरेको पहिलो ठूलो ड्रोन तथा मिसाइल आक्रमण हो। यसैबीच, रुसको रक्षा मन्त्रालयले देशको मध्य र पूर्वी युक्रेनस्थित सैन्य अड्डाहरूमा पनि आक्रमण गरेको जनाएको छ। मन्त्रालयका अनुसार हालै युक्रेनले मस्कोदेखि कालो सागरसम्मका रूसी विद्युत् केन्द्रहरूमा गरेका आक्रमणको प्रतिक्रियास्वरूप यी कारबाही गरिएको हो।
ती आक्रमणका कारण रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै देशमा इन्धन अभाव देखिन थालेको स्वीकार गर्नुपरेको थियो। बुधबार राष्ट्रपति जेलेन्स्कीले आयरल्यान्डको डब्लिन भ्रमण छोट्याउँदै नयाँ गुप्तचर सूचनाअनुसार रुसले ठूलो आक्रमणको तयारी गरिरहेको बताएका थिए। उनले भने ‘आफ्ना नागरिकलाई विशेष सावधानी अपनाउन, आफू, आफ्ना बालबालिका र परिवारको सुरक्षा गर्न आग्रह गर्दछु। पुटिनले लामो समयदेखि यस विशाल आक्रमणको तयारी गरिरहेका थिए ।’
उता, पोल्यान्डले आफ्नो हवाई क्षेत्रको सुरक्षाका लागि लडाकु विमान परिचालन गरेको छ। पोल्यान्डले यसलाई सावधानीका रूपमा गरिएको कदम भनेको छ र आफ्नो भूमिमा कुनै आक्रमण नभएको स्पष्ट पारेको छ। पोल्यान्ड नेटोको सदस्य राष्ट्र हो। नेटोको धारा ५ अनुसार कुनै एक सदस्य राष्ट्रमाथि भएको सशस्त्र आक्रमणलाई सम्पूर्ण सदस्य राष्ट्रमाथिको आक्रमण मानिन्छ।
यसैबीच, रूसी सेना हालै कोस्त्यान्तिनिभ्का सहरतर्फ अघि बढेको छ, जुन पूर्वी युक्रेनको महत्त्वपूर्ण रक्षा केन्द्रमध्ये एक हो। यदि रुसले यो सहर आफ्नो नियन्त्रणमा लिएमा सम्पूर्ण डोनबास क्षेत्रतर्फ अघि बढ्ने महत्वपूर्ण ढोका खुल्ने विश्लेषण गरिएको छ। यद्यपि, युक्रेनी सैन्य कमाण्डरहरूले यस वर्ष आफूहरूले गुमाएकोभन्दा बढी भूभाग पुनः नियन्त्रणमा लिएको र रुसका महत्त्वपूर्ण आपूर्ति मार्गमा अवरोध सिर्जना गरेको दाबी गरेका छन्।
हाल रुसले युक्रेनको करिब २० प्रतिशत भू-भाग आफ्नो नियन्त्रणमा राखेको छ। तीमध्ये अधिकांश क्षेत्र सन् २०२२ फेब्रुअरीमा सुरु भएको पूर्णस्तरीय आक्रमणको प्रारम्भिक चरणमै कब्जा गरिएका थिए।
भर्खरै
लोकप्रिय
