- भाटभटेनी विराटनगरको क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण सम्पन्न भई असार २७ गतेदेखि पुनः सञ्चालनमा आउने तयारीमा छ।
- भाटभटेनीकी निर्देशक सावित्री घले गुरुङको परिवारले पूजापाठ गर्दै पुनः सञ्चालनको तयारी पूरा भएको घोषणा गरे।
- भाटभटेनीले विगतका घटनालाई बिर्सेर विराटनगरवासीलाई सेवा दिन पुनः उत्साहका साथ तयार भएको छ।
गत वर्ष भदौमा भएको जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको विराटनगरको ब्यापारिक मल भाटभटेनी पुनः सञ्चालनमा आउने भएको छ। भाटभटेनी विराटनगरका अनुसार क्षतिग्रस्त बनेको भौतिक संरचना पुनर्निर्माण सम्पन्न भएको र असार २७ गतेबाट आफ्नो कारोबारलाई अघि बढाउन तयार रहेको छ।
सोमबार ब्यापारिक मल भाटभटेनीकी निर्देशक सावित्री घले गुरुङ, उनका परिवारसदस्यले भवनमा पूजापाठ गर्दै पुनः सञ्चालनका लागि तयारी अवस्थामा पुगेको जनाएकाछन्। पूजापाठपछि सोमबार गृहप्रवेश गरिएको भाटभटेनीका बजार ब्यवस्थापक विनोद भट्टराईले जानकारी दिए।

उनले विगतका अतित भुलेर नयाँ जोश र उमंगका साथ फेरि विराटनगरवासी र आसपासका उपभोक्तालाई सेवा दिन तयार भएको उल्लेख गरे। गतवर्ष भदौ २४ गतेको आगजनीका क्रममा भाटभटेनीलाई आन्दोलनकारीले निशाना बनाएका थिए। सो दिन अपरान्हपछि हुलका हुल आन्दोलनकारी प्रवेश गरेर भाटभटेनीमा तोडफोडसहित आगजनी गरेका थिए।
सो घटनामा जलेको अवस्थामा एक जना अपरिचित ब्यक्तिको शव समेत प्रहरीले फेला पारेको थियो। आन्दोलनका क्रममा भएको सो घटनामा भाटभटेनीले ठूलो धनराशीको खर्च ब्यहोर्नु परेको थियो। त्यसपछि भाटभटेनीकै कर्मचारीको सहयोगमा पुनः सञ्चालनमा आउन लागेको बताउँदै भट्टराईले क्षतिग्रस्त भएको भवन पुर्ननिर्माणमा खटिएको श्रमिक, इन्जिनियर तथा कर्मचारीलाई सम्मान समेत गरिएको बताए।
भर्खरै
लोकप्रिय
