- संगीता पहाडी अर्याल नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा पुनःबहाली भएकी छन्, विशेष अदालतबाट सफाइ पाएपछि।
- उनले कम्पनीका कर्मचारीलाई निष्टापूर्वक काम गर्न प्रेरित गर्दै प्रक्रियागत सुधारको आवश्यकता औंल्याएकी छन्।
- नेपाल टेलिकम ग्राहक सेवा सुधार र देशको दूरसञ्चार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न कटिबद्ध रहेको बताइएको छ।
काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनःबहाली भएकी छन्।
आफूमाथि लागेको आरोपमा सम्मानित विशेष अदालतबाट पूर्ण रूपमा सफाइ पाएपछि उनी पदमा फर्किएकी हुन्। नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको (माननीय मन्त्रीस्तर) असार २६ गतेको निर्णयअनुसार उनको निलम्बन फुकुवा भएपछि उनी टेलिकममा पुनःबहाली भएकी हुन्।
पदबहाली कार्यक्रममा प्रबन्ध निर्देशक अर्यालले कम्पनीका कर्मचारीहरूलाई विशेष सम्बोधन गरेकी थिइन्। सो क्रममा उनले संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न डराउनु नपर्ने बताइन्।
विगतमा कर्मचारीहरूमाथि लागेको आरोप र भ्रमको बादल हटेर अन्ततः सत्य स्थापित भएको उल्लेख गर्दै उनले आफ्नो अनुपस्थितिमा संस्थालाई कुशल नेतृत्व र सहयोग प्रदान गर्ने सम्पूर्ण टिमप्रति हार्दिक धन्यवाद समेत ज्ञापन गरिन्।
सम्बोधनकै क्रममा उनले कम्पनीमा प्रक्रियागत सुधारको आवश्यकता औंल्याएकी थिइन्। आगामी दिनमा आन्तरिक मात्र नभई बाह्य दृष्टिकोणलाई समेत ध्यानमा राखेर कार्य गरिने उनले स्पष्ट पारिन्।
नेपाल सरकारको भावना एवं मार्गनिर्देशन अनुरूप अविचलित तथा सत्यनिष्ठ भई नेपाल टेलिकमको जनआस्था र बजारको साखलाई थप सुदृढ बनाउने र कम्पनीको सेवालाई थप ग्राहकमैत्री बनाउने प्रतिबद्धता समेत उनले व्यक्त गरिन्।
नेपाल टेलिकम आफ्ना ग्राहकवर्ग, सरोकारवाला तथा आम नागरिकप्रति गुणस्तरीय सेवा प्रवाह गर्न र कानुनी राज्यको मर्यादालाई आत्मसात् गर्दै देशको दूरसञ्चार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सदैव प्रतिबद्ध रहेको जानकारी कम्पनीका प्रवक्ता डा. कमल लामिछानेले दिएका छन्।
भर्खरै
लोकप्रिय
