नेपालमा कोभिडको साप्ताहिक विश्लेषण (वैशाख २४ देखि ३० सम्म)

अझै बाँकी छ कोरोनाको अवशेष

विश्वमा हाल कोरोना संक्रमण समग्रमा निकै कम भइसकेको छ र धेरै देशहरुले अव उप्रान्त कोरोना सम्बन्धी विशेष अनुशासनका कुराहरु र नियमहरुको पालना गर्नु नपर्ने बताइसकेका छन्। त्यस्तै कोरोना संक्रमण भइहालेमा विशेष नियमको पालना गरी क्वारेन्टाइनमा बस्नु नपर्ने तर आफैले विशेष होशियारी पुर्‍याएर आइसोलेसनमा बसे पुग्ने नियम पनि बनाइसकेको छ।

दक्षिण कोरियामा हालसम्म कोरोना संक्रमण भएकाहरुले कम्तिमा एक हप्तासम्म कडा क्वारेन्टाइनमा रहनु पर्ने  नियम रहेकोमा यही जुन महिनादेखि क्वारेन्टाइनमा रहनु नपर्ने र आफ्नै होशियारीमा आइसोलेसनमा ५ दिनसम्म बसे पुग्ने तर त्यो पनि अनिवार्य नरहने घोषणा गरेको छ। त्यहाँको सरकारले अब आफ्ना जनताहरुले ३ वर्ष ४ महिनाको लामो कोरोना प्यान्डेमिकपछि एक स्वतन्त्र जीवन यापन गर्न सक्ने बताएको छ। त्यहाँ अब मास्कको आवश्यकता पनि नरहेको र अस्पतालको बिरामी भर्ना गरिने कक्षहरुमा मात्रै मास्क लगाउनु पर्ने पनि नियम बनाएको छ। 

त्यस्तै जापानले पनि यही मे महिनाको ८ देखि विदेशबाट आउने यात्रीहरुको लागि लगाइएको कोरोनाका विशेष प्रतिबन्धात्मक नियमहरु हटाएको छ र कोरोना संक्रमणलाई एक सामान्य रोग भनी परिभाषित गरेको छ। हालसम्म त्यहाँ विदेशबाट आउनेहरुले कम्तिमा तीन वटा भ्याक्सिन लगाएको प्रमाण पत्र र ७२ घण्टा भित्रको कोरोना परिक्षण नेगेटिभ रहेको प्रमाण पेश गर्नु पर्ने नियम थियो।

विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसियाको पछिल्लो करिब तीन महिना, फेब्रुअरी १३ देखि मे ८ (८५ दिन) को कोरोना प्यान्डेमिक सम्बन्धि तथ्यांकको विश्लेषण चित्र न. १मा देखाइएको छ। बिगत करिब तीन महिनादेखि दक्षिण एसियामा पुनः सुरु भएको यस पटकको प्यान्डेमिक लहर चित्रमा देखाइए जस्तै, हाल आएर फेरि घट्ने क्रम सुरु भएको छ। पछिल्लो समय दैनिक संक्रमण संख्या औसतमा करिब ५००० रहेको छ। 

त्यस्तै पछिल्लो समय दक्षिण एसियामा दैनिक कुल मृत्युको प्रबृत्ति पनि केही घटेको छ। हाल यो संख्या औसतमा २५  मा झरेको छ।  

नेपालको दैनिक नयाँ संक्रमण

सन् २०२३ मे ७ देखि १३ (बि.सं २०८० बैशाख २४ देखि ३०) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नया संक्रमणको प्रबृत्ति चित्र न. २ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परिक्षणलाई मात्रै गन्ति गरिएको छ। नेपाल  सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताको सात दिन, बैशाख २४ देखि ३० गते शनिबारसम्म, देशभरि जम्मा १३४ जना नया संक्रमित थपिई जम्मा संक्रमितको संख्या १००३२१६ पुगेको छ। दुई हप्ताअघि नेपालमा साप्ताहिक कोरोना संक्रमण संख्या १४१ पुगेको थियो। 

त्यस्तै चित्र न. २ले नेपालको गतहप्ताको दैनिक कोरोना संक्रमण दरको प्रबृत्ति पनि देखाएको छ। गतहप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम १.२२% देखि अधिकतम ८.०८% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ४.१९% पुगेको छ जुन दुई हप्ताअघि ६.५९% थियो।

गतहप्ता नेपालमा ० कोरोना मृत्यु भेटियो र हालसम्म देशको कुल कोरोना मृत्यु १२०३१  पुगेको छ।

गतहप्ता देशभरि जम्मा ३२१७  पीसीआर परिक्षण गरियो जुनसंख्या दुई हप्ताअघि १९७४ थियो।

संक्षेपमा, हाल दक्षिण एसियामा कोरोना संक्रमणको प्रबृत्ति केही घट्दै गएको देखिन्छ। बिगतभन्दा गतहप्ता कोरोना संक्रमण निकै कम भएको छ। त्यस्तै कोरोना मृत्युमा पनि कमी देखिएको छ।

नेपालमा पनि गतहप्ता, बि.सं २०८० बैशाख २४ देखि ३०, साप्ताहिक नया कोरोना संक्रमण संख्या केही घटेको छ। गतहप्ता दुई हप्ताअघिको भन्दा साप्ताहिक कोरोना संक्रमण, कोरोना मृत्यु र दैनिक कोरोना संक्रमण दरमा केही कमी देखिएको छ।

स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वब्यापी र देशब्यापी निकै कमी आइसकेता पनि यसको अवशेष  पनि बाँकी रहेको छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ति साबित हुन सक्दछ।

यस लेख नेपालमा साप्ताहिकरुपमा प्यान्डेमिक हेर्ने ऐनाको  रुपमा प्रस्तुत  गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

(डा. श्रेष्ठ कन्सल्टेन्ट न्युरोसर्जन हुन्।)

 

जेठ १, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्