कोभिड साप्ताहिक विश्लेषण

दक्षिण एशियामा दैनिक संक्रमण ३५ सयभन्दा कम

हाल विश्वमा कोरोना संक्रमण निकै कम भइसकेको अवस्था बनेको छ। पछिल्लो समय विश्वमा कुल दैनिक कोरोना संक्रमण ४००००-७०००० जति रहेको छ जुन सन् २०२० को मार्च महिनातिर भर्खर कोरोना प्यान्डेमिक सुरु हुन लागेको बेलाजस्तो छ। हाल कोरोना मृत्यु पनि निकै कम भइसकेको छ। तर बेला बेलामा कोरोना संक्रमण र मृत्यु केही बढ्न खोज्ने क्रम हाल पनि देखिने गरेको छ।

विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसियाको पछिल्लो डेढ महिना, सन् २०२३ एप्रिल १ देखि मे १६ (४६ दिन) को कोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र न. १मा देखाइएको छ। तीन महिनाभन्दा लामो समयदेखि दक्षिण एसियामा पुनः सुरु भएको पछिल्लो प्यान्डेमिक लहर चित्रमा देखाइए जस्तै, हाल आएर फेरि निकै कम भएको छ। पछिल्लो समय दैनिक संक्रमण संख्या औसतमा ३५०० भन्दा कम  रहेको छ।

त्यस्तै पछिल्लो समय दक्षिण एसियामा दैनिक कुल मृत्युको प्रबृत्ति पनि केही घटेको छ। हाल यो संख्या औसतमा २० मा झरेको छ।

नेपालको दैनिक नयाँ संक्रमण

सन् २०२३ मे १४ देखि २० (बि.सं २०८० वैशाख ३१ देखि जेष्ठ ६) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रबृत्ति चित्र न. २ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल  सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, वैशाख ३१ देखि जेठ ६ गते शनिबारसम्म, देशभरि जम्मा ७६ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या १००३२९२ पुगेको छ। दुई हप्ताअघि नेपालमा साप्ताहिक कोरोना संक्रमण संख्या १३४ पुगेको थियो।

त्यस्तै चित्र न. २ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दरको प्रबृत्ति पनि देखाएको छ। गतहप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम १.८४% देखि अधिकतम ५.५६% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ३.२८% पुगेको छ जुन दुई हप्ताअघि ४.१९% थियो।

गतहप्ता पनि नेपालमा ० कोरोना मृत्यु भेटियो र हालसम्म देशको कुल कोरोना मृत्यु १२०३१  पुगेको छ। गतहप्ता देशभरि जम्मा २३११ पीसीआर परीक्षण गरियो जुन संख्या दुई हप्ताअघि ३२१७ थियो। संक्षेपमा, हाल दक्षिण एसियामा कोरोना संक्रमणको प्रबृत्ति निकै घट्दै गएको देखिन्छ। बिगतभन्दा गत हप्ता कोरोना संक्रमण निकै कम भएको छ। त्यस्तै कोरोना मृत्युमा पनि कमी देखिएको छ।

नेपालमा पनि गतहप्ता, बि.सं २०८० वैशाख ३१ देखि जेठ ६, साप्ताहिक नयाँ कोरोना संक्रमण संख्या निकै घटेको छ। गत हप्ता दुई हप्ताअघिको भन्दा साप्ताहिक कोरोना संक्रमण, कोरोना मृत्यु र दैनिक कोरोना संक्रमण दरमा केही कमी देखिएको छ।

स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वब्यापी र देशब्यापी निकै कमी आइसके पनि यसको अवशेष  अझै पनि बाँकी छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती साबित हुन सक्छ।

यस लेख नेपालमा साप्ताहिकरुपमा प्यान्डेमिक हेर्ने ऐनाको  रुपमा प्रस्तुत  गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

जेठ ७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्