नेपालमा कोभिड प्यान्डेमिकको एक झलक: साप्ताहिक विश्लेषण

साताको कोरोना संक्रमणदर १.४ प्रतिशत

सन् २०२० को मार्च ११ देखि सुरु भएको कोरोना प्यान्डेमिक हाल निकै शान्त छ। यसै वर्षको मे अन्त्यसम्म आइपुग्दा दैनिक संक्रमण संख्या २०००० भन्दा कम भएको छ जुन भर्खर प्यान्डेमिक  सुरु हुँदाको अवस्थाजस्तै हो। सन् २०२१-२२ मा प्यान्डेमिक उच्च बिन्दुमा पुगेको बेला एकै दिन ३०-४० लाखसम्म नया संक्रमण देखापर्ने गरेको थियो।

त्यस्तै. हाल दैनिक मृत्यु १०० भन्दा कम भएको छ जुन प्यान्डेमिक घोषणा हुनुभन्दा अघि हुने गरेको थियो । सन् २०२० को मार्च महिनाको दोस्रो साता दैनिक कोरोना मृत्यु एक्कासी बढेर एक महिनाभित्र दैनिक ६०००-७००० सम्म पुगेको थियो र प्यान्डेमिक कालमा अधिकतम १५०००-१६००० सम्म पुगेको थियो।

हाल विश्वभरि कोरोना संक्रमण निकै कम भए पनि ती मध्ये संक्रमण केही अधिक देखिएका देशमा अमेरिका, फ्रान्स, जर्मनी, दक्षिण कोरिया, अस्ट्रेलिया, कोलम्बिया आदि पर्छन्।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसियाको पछिल्लो करिब दुई महिना, सन् २०२३ एप्रिल १ देखि मे ३० (६० दिन) को कोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र न. १ मा देखाइएको छ। तीन महिनाभन्दा लामो समयदेखि दक्षिण एसियामा पुनः सुरु भएको पछिल्लो सानो प्यान्डेमिक लहर चित्रमा देखाइएजस्तै, हाल आएर फेरि निकै कम भएको छ। पछिल्लो समय दैनिक संक्रमण संख्या औसतमा ८०० जति छ।

त्यस्तै पछिल्लो समय दक्षिण एसियामा दैनिक कुल मृत्युको प्रबृत्ति पनि केही घटेको छ। हाल यो संख्या औसतमा करिब १० मा झरेको छ।

नेपालको दैनिक नयाँ संक्रमण

सन् २०२३ मे २८ देखि जुन ३ (बि.सं २०८० जेष्ठ १४ देखि २०) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रबृत्ति चित्र न. २ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल  सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, जेष्ठ १४ देखि २० गते शनिबारसम्म, देशभरि जम्मा १८  जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या १००३३४३ पुगेको छ। दुई हप्ताअघि नेपालमा साप्ताहिक कोरोना संक्रमण संख्या ३३ पुगेको थियो।

त्यस्तै, चित्र न. २ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दरको प्रवृत्ति पनि देखाएको छ। गत हप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम ०.७४% देखि अधिकतम २.१२% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर १.४% पुगेको छ जुन दुई हप्ताअघि २.१४% थियो।

 

गत हप्ता पनि नेपालमा शून्य कोरोना मृत्यु भेटियो र हालसम्म देशको कुल कोरोना मृत्यु १२०३१  पुगेको छ।

गत हप्ता देशभरि जम्मा १२४४  पीसीआर परीक्षण गरियो जुन संख्या दुई हप्ताअघि १६५८ थियो।

संक्षेपमा, विश्वमा हाल कोरोना संक्रमणमा निकै कमी आइसकेको छ र दैनिक  संक्रमण र मृत्यु करिब प्यान्डेमिकपूर्वको अवस्थामा पुगिसकेको छ।

हाल दक्षिण एसियामा पनि कोरोना संक्रमणको प्रबृत्ति घट्दै गई निकै न्यून भएको देखिन्छ।

नेपालमा पनि गत हप्ता, २०८० जेष्ठ १४ देखि २०, साप्ताहिक नया कोरोना संक्रमण संख्या निकै घटेको छ। गत हप्ता दुई हप्ताअघिको भन्दा साप्ताहिक कोरोना संक्रमण, कोरोना मृत्यु र दैनिक कोरोना संक्रमण दरमा निकै कमी आएको छ।

स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वब्यापी र देशब्यापी निकै कमी आइसके पनि यसको अवशेष  अझै पनि बाँकी  छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती सावित हुन सक्छ।

यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको  रुपमा प्रस्तुत  गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

जेठ २२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्