- नेपाल बार एशोसिएशनले सिंहदरबारमा कानुन व्यवसायीहरूको प्रवेशमा अवरोधसम्बन्धी आपत्ति जनाउँदै प्रवेशमा कडाई हटाउन आग्रह गरेको छ।
- बारका महासचिव केदार प्रसाद कोइरालाले प्रवेश सुविधाका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुपरेको बताएका छन्।
- कानुन व्यवसायीहरूले परिचयपत्रको आधारमा सहज प्रवेशको माग समेत गर्दै संविधानले प्रदान गरेको कार्यदायित्वको स्मरण गराएका छन्।
काठमाडौँ- नेपाल बार एशोसिएशनले कानुन व्यवसायीहरूलाई सिंहदरबार परिसर प्रवेशमा अवरोध सिर्जना गरिएको भन्दै आपत्ति जनाएको छ।
बारका महासचिव एवं वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै कानुन व्यवसायीको परिचय पत्रको आधारमा सिंहदरबार प्रवेश दिइएको सुविधा कटौतीप्रति आपत्ति जनाएको छ।
कोइरालाले प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउँदै प्रवेशमा गरेको कडाई हटाउन माग गरेका छन्। सिंहदरबारभित्र रहेका प्रशासकीय अदालत लगायतका विभिन्न न्यायिक निकाय र सरकारी कार्यालयहरूमा बहस पैरवी तथा व्यावसायिक कामका लागि जानुपर्ने कानुन व्यवसायीहरूलाई गेटमा रोकिएका छन्।
कोइरालाले बारलाई लेखेको पत्रमा भनिएको छ, ”सिंहदरबार परिसर भित्रको प्रशासकीय अदालत लगायतमा कानुन व्यवसायीहरूको प्रवेशमा गत केही दिनदेखि अवरोध सिर्जना भएको छ। यस विषयमा सम्बन्धित निकायलाई पटक-पटक मौखिक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुपरेको हो।”
परिचयपत्रकै आधारमा प्रवेश पाउनुपर्ने जिकिर नेपाल बारले देशभरका ९० वटा इकाइमा आबद्ध कानुन व्यवसायीहरूले सर्वोच्च, उच्च, जिल्ला र विशेष अदालतका साथै विभिन्न न्यायाधीकरणहरूमा पक्षको प्रतिनिधित्व गर्नुपर्ने संवैधानिक र कानुनी दायित्व रहेको स्मरण गराएको छ।
विगतमा जस्तै कानुन व्यवसायीको परिचयपत्र देखाएकै भरमा सिंहदरबार परिसरभित्र निर्वाध रूपमा प्रवेश पाउने व्यवस्था मिलाउन बारले सरकारसँग जोडदार माग गरेको छ।
भर्खरै
लोकप्रिय
