गोरू कुटिएको भनिएको घटनाको वास्तविकता के हो?

गोरू कुटिएको भनिएको घटनाको वास्तविकता के हो?
+
-
देशसञ्चार AI सारांश
  • प्युठानको गौमुखी गाउँपालिका-१ का जालिराम थापा मगरलाई गोरूको नाक थुनेको आरोपमा अनुसन्धानका लागि पाँच दिन हिरासतमा राखिनेछ।
  • कुमारी थापा भन्छिन् कि बहर गोरूलाई उठाउन माटोमा नाक राखिएको, तर कुनै यातना नदिइएको हो।
  • गौमुखी गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले गोरू उठाउने प्रक्रियामा यस्तो व्यवहार सामान्य रहेको बताएका छन्।

काठमाडौँ– जोत्ने मेलो (ठाउँ/बारी)मा रहेका दुईवटा गोरूमध्ये एउटा उठेको छ। एउटा जोत्दाजोत्दै बसेको छ। त्यही बसेको गोरूको नाकलाई सानो खाल्डोमा राखेर एक जनाले माटोले पुरेका छन्। अनि गोरूको स्वास रोकेका छन्।

एकछिन् गोरूको स्वास रोकेपछि छाडेर ती व्यक्ति गोरूका पछाडि जान्छन् र पुच्छर समाउँछन्। गोरूलाई उठाउँछन्। गोरू उठ्छ र जोत्न तयार हुन्छ।

दुई/चार दिनदेखि सामाजिक सञ्जालमा भाइरल बनेको एउटा भिडियोमा देखिने यत्ति हो।

तर भिडियोमा गोरूलाई यातना दिएको भन्दै आलोचना भएपछि गोरूको नाक थुनेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्युठानको गौमुखी गाउँपालिका-१ का ३६ वर्षीय जालिराम थापा मगर रहेका छन्।

उनलाई जिल्ला प्रहरी कार्यालय प्यूठानले बुधबार पक्राउ गरेर अदालतबाट अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमतिसमेत पाइसकेको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै गोरूको नाक, मुख माटोमा गाडि, कुटी, हिर्काई निर्दयी व्यवहार गरेकाले पक्राउ गरिएको जानकारी दिएका छन्।

तर १ मिनेट १८ सेकेन्डको भिडियोमा गोरूलाई कुटिएको र हिर्काएको भने देखिएको छैन। भिडियोमा माटोमा नाक गाडिएको र पुच्छर तानेर उठाइएको मात्र छ।

भिडियोको वास्तविकता के हो?

उक्त भिडियो जेठ १६ गते शनिबारको हो। जालिराम थापा मगरले शनिबार बिदाका दिन आफ्नै बारी जोत्नेक्रममा उक्त भिडियो बनाएर आफैले सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए।

उनकी श्रीमती कुमारी थापाकाअनुसार उनीहरूको घरमा तीनवटा गोरू छ। एउटा गाई पनि छ। दुईवटा गोरू पाका (जोत्न जानेका) र एउटा बहर गोरू (दाउन बाँकी) हो। त्यही बहर गोरूलाई शनिबार बिदाका दिन पारेर जालिरामले अर्को जानेको गोरूसँग जोतेका थिए।

तर जोत्न सुरु गरेकै केही समयमा बहर गोरू बसिहाल्यो। त्यसपछि उसलाई उठाउन माटोमा नाक राखिएको कुमारीले बताइन्। ‘बहर गोरूलाई जोत्न सिकाउनेबेला त्यो बसेको थियो। त्यसपछि उहाँ (जालिराम)ले आफैले नाक माटोमा राखेर थुनिदिनुभएको हो, उसलाई उठाउनका लागि’, उनले भनिन्।

कुमारी सामाजिक सञ्जालमा जोतेर थाकेको गोरूलाई यातना दिइएको भन्दै आलोना भएकोप्रति आक्रोश व्यक्त गर्छिन्। जोत्दै नजोती बहर गोरू बसेको उनले बताइन्। ‘फेसबुकतिर जोतेर थाकेको गोरूलाई कुटिएको, यातना दिइएको पो भनिएको छ। त्यो सत्य होइन’, उनले देशसञ्चारसँग भनिन्, ‘त्यो बहर गोरू हो। जोतेको समय पनि बिहानको हो। पहिले कहिल्यै जोतिएको थिएन। बाँझो जमिनमा बहर गोरूलाई धौ (गाह्रो) हुन्छ भनेर त्यसलाई कमलो (पहिले जोतिएको ठाउँमा) माटोमा जोतेको हो। त्यो गोरू बिहान जोत्न सुरु गर्नासाथ बसेको थियो।’

यातना दिइएको भन्नेमा उनी असन्तुष्ट छिन्। बस्ने गोरूलाई गाउँमा पहिलेदेखि नै त्यसै गरिने गरेको कुमारीले बताइन्। ‘गोरू बसेपछि नाक थुनेर उठाउने गरिन्छ। उहाँ(जालिराम)ले त्यही गर्नुभएको हो’, उनले भनिन्।

गौमुखी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष दिलबहादुर थापाले गोरूलाई यातना नदिइएको बताए। बस्ने गोरूलाई उठाउने एक प्रक्रियाअन्तर्गत त्यस्ता कार्य पनि गरिने गरिएको उनको भनाइ छ। ‘सार्वजनिक भिडियोमा यातना दिएको जस्तो देखिन्छ। तर यातना दिइएको नभएर त्यो बस्ने गोरूलाई उठाउने विभिन्न प्रक्रियामध्ये त्यसरी नाक थुनिने पनि एक हो। उसले(जालिराम) त्यही गरेको हो। यातना दिएको होइन’, उनले भने।

उनले प्रहरीसँग भेटे गरेर आफ्नो कुरा भनेको बताएका छन्। प्रहरीले पनि वडाध्यक्ष थापालाई माथिको दबाबका कारण पक्राउ गर्नुपरेको बताएको छ। ‘म जिल्ला प्रहरी कार्यालय गएर फर्कँदै छु’, देशसञ्चारसँगको सम्पर्कमा उनले बाटोमा रहेको जानकारी गराउँदै भने ‘प्रहरीले माथिको दबाबका समाउनु परेको भनेको छ र अब म्याद थप गरेको समयसम्म हिरासतमा राख्नुपर्छ भनेको छ।’

जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी भट्टराईले उक्त घटना शनिबार बिहान १० बजे तिरको भएको पुष्टि गरे। भिडियोमा गोरूलाई कुटपिट गरिएको नदेखिए पनि प्रहरीले कुटपिट गरेको भन्नेसमेत विज्ञप्तिमार्फत सार्वजनिक गरेको विषयमा उनले केही सार्वजनिक नभएको भिडियो हुनसक्ने भनेर आफ्नो कुरा टार्न खोजे।

जालिराम गाउँकै एक साना किसान कृषि सहकारी संस्थामा काम गर्छन्। शनिबार बिदाको दिन पारेर बहर गोरूलाई सिकाउन बुबासहित जोत्न बारीमा गएका थिए। त्यसैबेला बहर गोरू बसेको थियो। एक पटक जोतिएको बारीमा फेरि जोत्न बहर गोरूलाई लगिएको थियो।

अन्य बारीमा मकै रोपिएको छ। कोदोको बीऊ राख्नका लागि घर जनिकैको बारी फेरि जोतिएको कुमारी बताउँछिन्। ‘पहिले एकपटक जोतिएको बारी हो। अब त्यहाँ कोदोको बीऊ राख्नका लागि बहरलाई पनि सिकाउनका लागि त्यहाँ जोतिएको थियो’, उनले भनिन्।

कुमारी पनि स्थानीय विद्यालयमा कार्यालय सहायकका रुपमा काम गर्छिन्। घरमा ३/४ वटा बाख्रा छन्। ४/५ वटा भेडा पनि छन्। कुमारी प्रश्न गर्छिन्– ‘पशुपालन गरेका हामीले कसरी यातना दिन सक्छौँ?’

उनले भिडियोलाई काटेर गोरू नाकमात्र थुनिदिएको भिडियो राखेको तर बहर गोरु उठेर हिँडेको नराखेर भ्रम फैलाएको भन्दै कानुनी उपचार खोज्ने मन रहेको बताइन्।

पक्राउ परेका जालिरामलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० बमोजिम अनुसन्धान भइरहेको छ। संहिताको दफा २९० पशुपन्छीमाथि निर्दयी व्यवहार गर्न नहुने व्यवस्था छ।

उपदफा १ मा कतिसम्म कुटपिट गर्न पाइने र नपाइने व्यवस्था पनि गरिएको छ। दफा १ मा कुटपिट गर्न नपाइने, सार्वजनिक छाड्न नपाइने व्यवस्था छ। यदि त्यसो गरेमा ३ महिना कैद र ५ हजारसम्म जरिवाना हुन सक्ने व्यवस्था गरिएको छ।

तर पशुपन्छीलाई कुनै काम गर्न सिकाउने, तालिम दिने, त्यसलाई आफ्नो कामप्रति निपुन बनाउने उदेश्यले न्यूनतम बल प्रयोग गर्न पाइने व्यवस्था पनि उपदफा १ मै गरिएको छ।

मुलुकी अपराध संहिता ऐन २०७४मा पशुमाथि कुटपिट गर्न पाइने र नपाइने व्यवस्था

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…