- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा देखिएका प्राविधिक त्रुटिहरू सच्याइएको मात्र स्पष्ट पारे।
- सवारीसाधन आयात र करबारे उठेका प्रश्नहरूको खण्डन गर्दै गलत प्रचार भइरहेको बताए।
- विधेयकको सच्याइएका बुँदाबारे सांसदहरूलाई अग्रिम जानकारी गराइसकेको बताएका छन्।
काठमाडौं— अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणपश्चात आर्थिक विधेयकमा देखिएका प्राविधिक त्रुटिहरू मात्र सच्याइएको स्पष्ट पारेका छन्।
बुधबार बसेको अर्थसमितिको बैठकमा बोल्दै उनले तथ्य र प्रमाणका आधारमा मात्रै कुरा राख्न आग्रह गरे। सच्याइएका ५/६ वटा विषयहरूका बारेमा सांसदहरूलाई विधेयकसँगै अग्रिम जानकारी गराइएको समेत उनले दाबी गरे।
प्रस्तुत बजेट आम जनताको पक्षमा रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री र आफूलाई बदनाम गराउन एउटा संगठित गिरोह नै लागिपरेको आरोप लगाए।
पछिल्लो समय गाडी आयात र करका विषयमा उठेका प्रश्नहरूको खण्डन गर्दै उनले सवारीसाधनहरू नियमित प्रक्रियाबाटै आएको स्पष्ट पारे। बीवाईडी गाडीको नाम जोडेर कर छलेको भन्दै बजारमा गलत प्रचार भइरहेको उनको भनाइ थियो।
आर्थिक विधेयक सच्याइएको विषय सांसदहरूलाई बुझाइसकिएको अवस्थामा पनि यसलाई ‘राजद्रोह’ वा ‘देशद्रोह’ का रूपमा व्याख्या गरिनु गलत भएको भन्दै उनले सांसदहरूमाथि नै प्रतिप्रश्न गरे।
साथै, आफू र आफ्नो टिमबाट कुनै पनि प्रकारको बजेट वा करको सूचना चुहावट नभएको उनले ठोकुवा गरे।
आर्थिक विधेयक र करका दरका विषयमा आएका समाचारप्रति आक्रोश पोख्दै अर्थमन्त्री डा. वाग्लेले सञ्चारमाध्यमहरूले अनावश्यक भ्रम फैलाएको बताए।
“नेपालका पत्रकारले माइक्रोसफ्ट वर्ड चलाउन सक्छन् कि सक्दैनन् थाहा भएन। ४६० पानाको डकुमेन्टमा कोलम हुन्छ, कोलम हटाउने बित्तिकै पृष्ठ घट्छ,” प्राविधिक कुरा बुझाउँदै उनले व्यङ्ग्य गरे।
सांसदहरूलाई आधिकारिक रूपमा जानकारी गराइसकेपछि मात्रै पत्रिकाहरूले ठूलै कुरा भएजस्तो गरी ‘फण्डा’ मच्चाएको उनको आरोप थियो।
पत्रकार र पत्रिकाहरूले भ्रम सिर्जना गरे पनि सांसदहरूलाई वितरण गरिएको विधेयक र सार्वजनिक गरिएको विधेयकमा कुनै फरक नरहेको उनले दाबी गरे।
भर्खरै
लोकप्रिय
