काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको बताएका छन्।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्ना आमाबुवासहित सबै परिवार नै सखाप बनाउने गरी दीपेन्द्रले दरबार हत्याकाण्ड गरी आत्महत्या गरेको भनि विश्वव्यापी रुपमा फैलाइएको हल्लामा कुनै सत्यता नरहेको बताएका हुन्।
उनले दरबार हत्यकाण्डलाई दीपेन्द्रको प्रेमसँग जोडेर रेडिमेड कथा विश्वव्यापी रुपमा फैल्याइएको बताए। उनले दरबार हत्यकाण्ड कसले गर्यो? भन्ने कुरा अझै खुल्न नसकेको बताए।
उनले भने, ‘२०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भयो। दरबार हत्याकाण्ड हुनेबित्तिकै विश्वव्यापी रुपमा एउटा हल्ला फैलियो, फलानो फलानोको लभ थियो, त्यो लभमा यस्तो भएको थियो, एउटा यस्तो रेडिमेड स्टोरी र दीपेन्द्र युवराज दीपेन्द्रले बाबु, आमा, भाइ, बहिनी, काका, काकीसहित वंशनाश गरेर आफूले पनि आत्महत्या गरे भन्ने एउटा रेडिमेड कथा विश्वव्यापी रुपमा पुर्याइयो। २०औँ वर्ष त्यसले एकछत्र त्यो गलत सूचनाले राज गर्यो। सही सूचना के हो अझै थाहा छैन।’
उनले थपे, ‘बिना अध्ययन त्यो कथाको रचनाकार को हो? त्यो पनि थाहा छैन। त्यो कथाको मूल वाचक को हो? त्यो पनि थाहा छैन। तर एउटा कथा रचना भयो र वाचन गरियो। त्यो एकैचोटी विश्वव्यापी रुपमा फैलियो। सबै विश्वका प्रमुख सञ्चार माध्यमहरुले त्यत्रो विशाल घटनाको सन्दर्भमा किञ्चित बुझ्नुपर्ने चासो राख्नुपर्ने कुरा केही ठानेनन्। बरु त्यही अफवाह बोकेर हिँड्न किन आवश्यक ठाने त्यो पनि अनौठो कुरा छ। वास्तवमा त्यो सूचना सही होइन।’
भर्खरै
लोकप्रिय
