- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरजु राणा देउवालाई राहदानी ठेक्का प्रकरणमा बयानका लागि तीन दिन भित्र उपस्थित हुन भनेको छ।
- देउवा दम्पत्ति सिंगापुरमा उपचाराधीन भएकाले सूचनासहित तामेल प्रक्रिया आरजु राणा देउवाको घरमा गरिएको छ।
- पासपोर्ट खरिद प्रक्रियामा प्रत्यक्ष संलग्नता नदेखिएको भएपनि सम्भावित निर्देशनका आधारमा बयानका लागि बोलाइएको छ।
काठमाडौँ– पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई तीन दिनभित्र उपस्थित हुन आउने सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढानीलकण्ठस्थित जेनजी आन्दोलनमा जलाइएको उनको खण्डहर घरमा टाँसेको छ।
भदौ २४ गते जेनजी आन्दोलनकर्ताहरूले बुढानीलकण्ठस्थित देउवा निवास जलाएर ध्वस्त पारेका थिए। उक्त घर पछि भत्काउने काम भएकोमा भत्काउसमेत रोकिएको छ।
सोही घरमा बिहीबार आयोगले राहदानी खरिद ठेक्का प्रकरणमा बयानका लागि तीन दिनभित्र उपस्थित हुन भन्दै सूचना टाँस गरेको हो। उनी कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पत्नी पनि हुन्।
देउवा दम्पत्ति उपचारका लागि भन्दै ४ महिना अघि सिंगापुर गएका थिए। सिंगापुरबाट नेपाल नफर्केकाले राणाका घर ठेगानामा आयोगले म्याद तामेल गरेको हो।

उक्त ठेक्का प्रकरणमा आरजुको प्रत्यक्ष संलग्नता नदेखिए पनि परराष्ट्रमन्त्रीको हैसियतमा उनको पनि संलग्नता हुन सक्ने आशंकाका कारण आयोगले बयानमा बोलाएको हो। आयोगमा भएको कागजात केलाउँदा, गत वर्षको पासपोर्ट खरिद प्रक्रियामा उनले निर्णय गरेको देखिँदैन तर निर्देशन दिएको भन्ने आधारमा मात्रै बयानमा बोलाउन लागेको हो।
अख्तियारले सूचनामा भनेको छ- ‘यस आयोगमा परेको वादी नेपाल सरकार प्रतिवादी आरजु राणा देउवासमेत भएको राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा तपाईंसँग बयान लिनुपर्ने भएकोले यो सूचना बुझेको वा तपाईंको घरदैलोमा टाँस भएको मितिले बाटोको म्याद बाहेक ३ (तीन) दिनभित्र यस आयोगको महाशाखा नं. १२, कोठा नं. १२ टंगाल, काठमाडौँमा उपस्थित हुन आउनु होला, नआए कानूनबमोजिम हुनेछ।’

भर्खरै
लोकप्रिय
