- सरकारले समयमै खरिद प्रक्रिया अगाडि नबढाउँदा एन्टीरेबिज र एन्टिस्नेक भेनम खोपको देशभर अभाव देखिएको छ।
- मूल्य वृद्धि र पश्चिम एशियामा तनावले टेन्डर प्रक्रिया टुंग्याउन नसक्दा खोप आपूर्तिमा समस्या भएको छ।
- स्वास्थ्य मन्त्रालयले खोप आपूर्ति सहज बनाउन सार्वजनिक खरिद ऐन परिमार्जनको तयारी गरिरहेको छ।
काठमाडौँ – सरकारले समयमै खरिद प्रक्रिया अगाडि नबढाउँदा आवश्यक सिजनमै एन्टीरेबिज भ्याक्सिन (एआरभी) र एन्टिस्नेक भेनम खोपको देशभर अभाव भएको छ ।
विश्वव्यापी मूल्यवृद्धिका कारण दररेट समायोजनको समस्या र पश्चिम एशियामा जारी तनावका कारण सरकारले टेण्डर प्रक्रिया टुंग्याउन नसक्दा देशभरका अस्पताल तथा स्वास्थ्य सेवा केन्द्रहरूमा खोपको आपूर्ति हुन नसकेको हो।
कुकुर, बाँदरलगायत जनावरले टोकेपछि एन्टी रेबिज भ्याक्सिन (एआरभी) लगाइन्छ । चिकित्सककाअनुसार जनावरले टोकेको थाहा पाएपछि खोप सकेसम्म चाँडै लगाउनुपर्छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सह–प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समिरकुमार अधिकारी बजार मूल्य बढेका कारण पुरानो दररेटमा खोप खरिद सम्भव नभएको र त्यसअनुसार नयाँ दररेट मिलाएर टेन्डर प्रक्रिया अघि बढाउनुपर्दा एन्टीरेबिज भ्याक्सिन खरिद प्रक्रियामा ढिलाई भएको बताउँछन्।
करिव ५ लाख भायल एआरभी खोप खरिदको टेण्डर अन्तिम चरणमा पुगेको भए पनि आपूर्ति प्रक्रिया अझै शुरु भएको छैन ।
उनले सरकारले विश्व स्वास्थ्य सङ्गठनसँग समन्वय गरेर आकस्मिक रूपमा एन्टि रेबिज भ्याक्सिनहरू अस्पतालहरूमा उपलब्ध गराएर व्यवस्थापन गरिरहेको दाबी गरे।
आईतवार मात्र चार हजार पाँच सय भायल एआरभी खोपहरू नेपाल आएका छन्। उक्त मात्रामा भित्रिएको खोपले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका लागि मात्र एक महिनाका लागि पुग्ने अधिकारीले जानकारी दिए।
एन्टीरेबिज भ्याक्सिनहरूको लागि यही असार १६ गतेभित्र सम्झौता प्रक्रिया टुंगिएर आपूर्ति प्रक्रिया शुरु हुने दाबी छ।
सर्पदंशका घटना सबैभन्दा बढी हुने वर्षाको मौसममा देशभर सर्पदंशको भ्याक्सिन (एन्टिस्नेक भेनम) को समेत अभाव भएको छ ।
अत्यावश्यक जीवनरक्षक औषधिको रुपमा मानिने एन्टिस्नेक भेनम अभावका सर्पदंशको कारण तराईका क्षेत्रसहित देशभर समस्या भएको छ । सरकार भने सर्पदंशको उपचारका लागि आवश्यक एन्टिस्नेक भेनमको अभाव नरहेको दाबी गरिरहेको छ ।
वरिष्ठ स्वास्थ्य प्रशासक अधिकारले सर्पदंशविरुद्धको भ्याक्सिनको उपलब्धतामा चुनौती नरहेको दाबी गर्छन्।
उनले रेबिज र सर्पदंशविरुद्धका भ्याक्सिनहरु पाइपलाइनमा रहेको भन्दै अगामी आर्थिक वर्षमा आपूर्ति समस्या नहुने दाबी गरे।
उनले भने, ‘सर्पदंश उपचारका लागि आवश्यक पर्ने सर्पदंश सम्बन्धी जुन भ्याक्सिन छ, त्यो भ्याक्सिनको उपलब्धतामा पनि धेरै ठूलो चुनौतीहरू छैनन्। यसमा पनि विश्वव्यापी बजारमा आएको मूल्य वृद्धि, मुद्रास्फीति सबैसँग जोडिएका विषयहरू रहने भए, यसमा चाहिँ अब यो हामीले विगतमा समयमै टेण्डर गरेर उपलब्ध हुन अलिकति गाह्रो भएको अवस्थामा अहिले टेन्डर भएर टेण्डर पनि फाइनल भएर सम्झौताका लागि जसले सप्लाई गर्नुहुन्छ।’
तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गरेका सम्झौता र सिफारिसलाई आधार बनाएर खरिद प्रक्रियामा रहेका जटिलता हटाउन पहल थालिएको अधिकारीहरुको भनाइ छ।
उनले रेबिज र सर्पदंशको भ्याक्सिन आपूर्ति प्रक्रियालाई सहज बनाउन सार्वजनिक खरिदसम्बन्धी ऐनमा आवश्यक परिमार्जनको तयारी भइरहेको बुझिएको छ।
मनसुनको समयमा विशेषगरी तराई–मधेसका जिल्लाहरुमा सर्पदंशका घटनाबाट वर्षेनी सयौँ नागरिकले अकालमै ज्यान गुमाउने गरेका छन् । न्युज एजेन्सी नेपाल
भर्खरै
लोकप्रिय
