- विकासकुमार चापागाईविरुद्ध ५० लाख रुपैयाँ बराबरको भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरिएको छ।
- झलकराम अधिकारीसमेतको भ्रष्टाचार मुद्दामा चापागाईको बयान अनुसन्धानका क्रममा दिएको प्रमाणसँग मेल खाएन।
- चापागाईले भ्रष्टाचारलाई सहयोग गरेको पुष्टि भएको कारण ५० लाख रुपैयाँ बिगो कायम गरी सजायको माग गरियो।
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका विकासकुमार चापागाईविरुद्ध ५० लाख बराबरको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको छ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थायी घर भएका चापागाईलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानमा सहयोग गरेबापत सरकारी साक्षी बनाइएको थियो। त्यसक्रममा भ्रष्टाचार निवारण ऐन, २०५९ र सम्पत्ति शुद्धीकरण ऐन, २०६४ अनुसार सजायमा पूर्ण छुट दिइएको थियो । तर, चापागाईले जेठ १३ गते विशेष अदालतमा बकपत्र गर्दा अनुसन्धानका क्रममा दिएको बयानविपरीत अभिव्यक्ति दिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार झलकराम अधिकारीले राजस्व चुहावटसम्बन्धी अनुसन्धान प्रभावित पार्ने तथा अनुसन्धान प्रक्रिया अघि नबढाउने उद्देश्यले गैरकानुनी लाभ लिन खोजेका थिए। त्यसका लागि एच.के. इन्टरप्राइजेज प्रालिका सञ्चालकबाट ५० लाख बराबरको चेक विकासकुमार चापागाईको नाममा काट्न लगाइएको थियो ।
उक्त रकम चापागाईले आफ्नो बैंक खातामा जम्मा गरी झलकराम अधिकारीको निर्देशनअनुसार जग्गा खरिदका लागि भुक्तानी गरिएको आयोगको आरोप छ । यसरी चापागाईले भ्रष्टाचारजन्य कार्यमा सहयोगी तथा मतियारको भूमिका निर्वाह गरेको पुष्टि भएको भन्दै ५० लाख रुपैयाँ बिगो कायम गरिएको आयोगले जनाएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि सहयोगी तथा मतियारको भूमिका खेलेको पुष्टि भएको भन्दै सोही रकमलाई बिगो कायम गरी कानुनबमोजिम सजायको मागदाबी गरिएको छ।
भर्खरै
लोकप्रिय
