- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा उम्मेदवारको नामावलीको क्रमिकताबारे सामाजिक सञ्जालमा विरोध जनाइएको छ।
- उम्मेदवारहरू गणेश कार्की, यज्ञमणी न्यौपाने, र राजीव खत्रीले नामावली विवाद र मतदान प्रक्रियामा असन्तोष व्यक्त गरेका छन्।
- रास्वपाको महाधिवेशनमा ८० ओटा विद्युतीय मेसिनबाट ३,८४९ प्रतिनिधिले मतदान गर्ने तयारी गरिएको छ।
काठमाडौँ- निकै फितलो देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको विवाद छताछुल्ल भएको छ।
चितवनको भरतपुरस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा जारी महाधिवेशनमा उम्मेदवारहरूको असन्तुष्ट छताछुल्ल भएको हो। महाधिवेशन निकै फितलो भएको भन्दै कतिपय महाधिवेशन प्रतिनिधिले मतदानमा सहभागी नभई घर फर्किसमेत सकेका छन्।
असार ७ देखि ९ गतेसम्म सक्ने गरी तयारी भएको महाधिवेशन दुई दिन ढिला हुँदा पनि केन्द्रीय सदस्यकै लागि मतदान सकिएको छैन। मतदान जारी रहँदा उम्मेदवारहरूले भने आफ्ना असन्तुष्टहरू सार्वजनिकरुपमै सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहेका छन्।
बुधबारदेखि नै सञ्जालमा नेताहरूले विरोध थालेका थिए। विशेषगरी केन्द्रीय सदस्यमा उम्मेदवारी र उम्मेदवारको नामावलीको क्रमिकताका विषयलाई लिएर उनीहरूले सामाजिक सञ्जालमा खुलेर विरोध जनाएका छन्।
जसमध्ये एक हुन् गणेश कार्की। उनले प्रारम्भिक सूचीमा भएको भन्दा मतदानका लागि तयार पारिएको सूचीमा नाम तल राखिएको भन्दै असन्तुष्ट जनाएका छन्। कसरी नाम तलमाथि भयो भन्दै उनले प्रश्नसमेत गरेका छन्। ‘खुला तर्फको १३३ नम्बरमा मेरो नाम रहेछ। प्रारम्भिक सूचीमा मभन्दा तल दर्ता भएकाहरूको नाम मेरोभन्दा माथि कसरी भयो? मेरोभन्दा पहिले दर्ता गरेकाहरू मभन्दा तल कसरी पुगे? के आधारमा भोटिङ मेसिनमा नाम स्थान तोकियो?,’ सांसदसमेत रहेका कार्कीले फेसबुकमा लेखेका छन्।

उनी मात्र होइन रास्वपाका अर्का नेता यज्ञमणी न्यौपानेले पनि आफ्नो नाम नम्बरका विषयमा सञ्जालमा आपत्ति जनाएका छन्। उनी रास्वपा सभापति रवि लामिछाने निकट पनि मानिन्छन्। ‘मेरो नाम खुल्ला सूचीको ४२ नम्बरमा रहेछ। मभन्दा पछि फर्म भरेका साथीहरूको अगाडि नै नाम राखेको देखियो। अल्फाबेटिकल अर्डरसमेत मिलाएको होइन रहेछ। तथापि, मतदान भइरहेको छ। आशा विश्वास र भरोसा मतदातामाथि रहेकै छ,’ न्यौपानेले फेसबुकमा लेखेका छन्।

यता, रास्वपाका अर्का नेता राजीव खत्रीले पनि मतदानका विषयमा आपत्ति जनाएका छन्।
उनले नो भोटिङको धञ्जी उडाइएको भन्दै आलोचनासमेत गरेका छन्। ‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ। नो भोटको धज्जी,’ उनले सञ्जालमा लेखेका छन्।

‘मनोनयन दर्ता गर्ने बेला ३७ नम्बरमा भएको मेरो नाम भोटिङ मेसिनमा केको आधार मा १०६ नम्बरमा पुग्यो?,’ आफ्नो नामावलीका विषयमा आपत्ती जनाउँदै आशिका तामाङ सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्।

रास्वपाको महाधिवेशन यही असार ७ गतेबाट चितवनमा जारी छ। पार्टीको सभापतिमा संस्थापक सभापति रवि लामिछाने नै आगामी कार्यकालका लागि निर्विरोध रुपमा निर्वाचित भएको भए पनि अन्य पदाधिकारीका लागि भने निर्वाचनको तयारी थालिएको छ। निर्वाचनमा लागि ८० ओटा विद्युतीय मेसिनको प्रयोग गरिँदै छ भने ३ हजार ८४९ प्रतिनिधि रहेका छन्।
भर्खरै
लोकप्रिय
