- कैलाश मानसरोवरको दर्शन गर्न हालसम्म ४,४५६ जना भारतीय पर्यटक नेपालगञ्जमार्फत हिल्सा हुँदै चीनको ताक्लाकोट पुगेका छन्।
- पर्यटकको आगमनले सिमकोट र हिल्साका होटलहरू भरिभराउ भई दैनिक ८० देखि २०० भारतीय पर्यटक आइपुग्छन्।
- नेपालगञ्जबाट सिमकोटसम्म एयरलाइन्सका ६ जहाज र ६ हेलिकोप्टरले नियमित उडान भर्दै ट्राफिक जामसमेत हुने गरेको छ।
हुम्ला- कैलाश मानसरोवरको दर्शन गर्न आउने पर्यटकको संख्या पैतालीस सय कटेको छ । यसले गर्दा हाल दिनप्रतिदिन सिमकोट र हिल्साका होटलहरू पर्यटकले भरिभराउ हुने गरेका छन् ।
प्रहरीले उपलब्ध गराएको विवरणअनुसार हालसम्म चार हजार ४५६ जना भारतीय पर्यटक नेपालगञ्जबाट सिमकोट हुँदै हिल्सा भएर चीनको ताक्लाकोटतर्फ कैलाश मानसरोवरको दर्शन गर्न गएका छन् । यस वर्ष गत वैशाख ३० गतेबाट भारतीय पर्यटकहरू मानसरोवर कैलाशको दर्शनका लागि जिल्लामा आउन सुरु भएका थिए । हालसम्म हुम्ला आइपुगेका भारतीय पर्यटकमध्ये दुई हजार १६४ जना महिला र दुई हजार २९२ जना पुरुष रहेका छन् । सिजन सुरु भएसँगै दैनिक ८० देखि २०० जनासम्म भारतीय पर्यटक हवाईमार्गबाट हुम्ला आउने गरेका छन् ।
धेरै पर्यटकको आगमन हुन थालेपछि हाल निजी एयरलाइन्समध्ये ताराका एउटा, सीताका दुई वटा र समिट एयरका तीन वटा गरी छ वटा जहाजले बिहान सात बजेदेखि बेलुका अबेरसम्म नेपालगञ्जबाट सिमकोटका लागि उडान भर्दै आएका छन् । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्र सिंहले सो जानकारी दिनुभयो ।
त्यसैगरी छ वटा कम्पनीका छ वटा हेलिकोप्टरले सिमकोट विमानस्थलबाट हिल्सातर्फ उडान भर्दै आएका छन् । हेलिकोप्टरले बिहान साढे ६ बजेदेखि बेलुका ७ बजेसम्म उडान भर्ने गरेका छन् । बिहान साढे ६ बजेदेखि सिमकोटबाट पर्यटकलाई हिल्सा पुर्याउन हेलिकोप्टरहरूले उडान भर्न सुरु गर्ने गरेका छन् । कतिपय बेला सिमकोट विमानस्थलमा ट्राफिक जामसमेत हुने गरेको छ ।
भर्खरै
लोकप्रिय
