- शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले नतिजा प्रकाशन प्रक्रिया स्पष्ट, विश्वसनीय रहेको र विशेष समिति गठन गरेको बताए।
- विद्यार्थी आन्दोलनको कारण नतिजामा त्रुटि भएको दावीलाई अस्वीकार गर्दै उनले शान्तिपूर्ण आवाजको सम्मान गर्ने प्रतिवद्धता जनाए।
- सामाजिक सञ्जालमा विद्यार्थीहरूप्रति दुर्व्यवहार रोक्न आग्रह गर्दै मन्त्रीले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पूर्ण रूपमा स्पष्ट र विश्वसनीय रहेको दाबी गरेका छन्। परीक्षाको विश्वसनीयता र पारदर्शितालाई सुनिश्चित गर्न मन्त्रालयले एउटा विशेष समितिसमेत गठन गरेको मन्त्री पोखरेलले जानकारी दिएका छन्। उक्त समितिले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण गर्नुका साथै प्राप्तांक (परीक्षाङ्क) र डेटा इन्ट्रीको प्रमाणीकरण गर्नेछ।
नतिजा प्रकाशनमा कुनै हतार नगरिएको उल्लेख गर्दै मन्त्री पोखरेलले आवश्यक जनशक्ति थपेर र प्रशासनिक झन्झट छोट्याएर तोकिएकै समयमा नतिजा सार्वजनिक गरिएको बताएका हुन्।
नतिजा प्रकाशनको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण रूपमा आवाज उठाउने अधिकारको सम्मान गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। ४० दिनमै नतिजा निकालेर त्रुटि भएको भन्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन्।
यस विषयलाई लिएर सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरूमा विद्यार्थीहरूप्रति भइरहेका नकारात्मक र असम्मानजनक टिप्पणीहरूप्रति मन्त्री पोखरेलले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा अपमानजनक शब्द प्रयोग नगर्न मन्त्री पोखरेलले सबैसँग अनुरोध गरेका छन्।
भर्खरै
लोकप्रिय
