- छानबिन समितिले नेपाल टेलिभिजनबाट स्याटेलाइट लिंक खरिदसँग सम्बन्धित १८ वटा फाइलहरू नियन्त्रणमा लिएको छ।
- इञ्जिनियर डा.आभाष मास्केको संयोजकत्वमा समिति गठन भइ पस्चात सम्झौता, उपकरण खरिद लगायतका प्रमाणहरू संकलन गरियो।
- सन् २००५ देखि थाइकम पीसीएलसँग खरिद हुँदै आएको स्याटेलाइट लिंकमा अनियमितता भएको अपुष्ट स्रोतले उजागर गर्यो।
काठमाडौँ– सार्वजनिक सेवा प्रशारण संस्था (पिएसबी) को स्याटेलाइट लिंक खरिद प्रकरणमा छानबिनका लागि बनेको समितिले सोमबार अपराह्न नेपाल टेलिभिजनबाट यससम्बन्धी दर्जनभन्दा बढी फाइलहरू नियन्त्रणमा लिएको छ।
स्याटेलाइट लिंक खरिदका क्रममा ठूलो अनियममितता भएको आशंकापछि गठित छानबिन समितिले टेलिभिजन कार्यालयबाट करिब डेढ दर्जन फाइल आफ्नो नियन्त्रमा लिएको स्रोतले जानकारी दिएको छ।
नेपाल टेलिभिजनको स्याटेलाइट लिंक खरिदका क्रममा अनियमितता भएको भन्दै छानबिन गर्न मन्त्रालयले गत जेठ २२ गते २१ दिने समयावधिसहित समिति गठन गरेको थियो।
इञ्जिनियर डा.आभाष मास्केको संयोजकत्वमा गठित समितिमा उमेश रुपाखेती, टिकाराम कार्की र नवीनकुमार मिश्र सदस्य थिए।
समितिलाई स्याटेलाइट सेवा खरिद र व्यवस्थापनसँग सम्बन्धित विगतका सम्झौता, सेवा विस्तार, प्रविधि रुपान्तरण तथा उपकरण खरिद प्रक्रियाको अध्ययन गरी आवश्यक सुझावसहित प्रतिवेदन बुझाउन कार्यादेश थियो।
समितिले सुरुमा छानबिनका क्रममा नेपाल टेलिभिजनबाट यससम्बन्धी पर्याप्त कागजातहरू नपाएपछि सरोकारवाला विभागहरूबाट सम्झौता, प्रक्रिया र उपकरणलगायतका विषयका प्रमाणहरू संकलन गरेको थियो।
नेपाल टेलिभिजनले सन् २००५ देखि थाइल्याण्डको थाइकम पीसीएलसँग स्याटेलाइट खरिद गर्दै आएको छ। उक्त कम्पनीसँग पिएसबीका अध्यक्ष डा. महेन्द्र बिष्ट भएका बेला फेरि किनिएका स्टाटेलाइट लिंकमा अनियमतिता भएको स्रोतले दाबी गरेकाे छ। बिष्ट २०८१ सालमा पिएसबीकाे अध्यक्ष नियुक्त भएका थिए।
सूचना तथा सञ्चार मन्त्रालयले चाँडै यससम्बन्धमा कारबाहीका लागि औपचारिक प्रक्रिया सुरु गर्ने बुझिएको छ।
भर्खरै
लोकप्रिय
