काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सय दिनको अवधिमा अभूतपूर्व काम गरेको दाबी गरेका छन्।
मंगलबार राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सरकारले सय बुँदामा तोकिएका कामहरूमध्ये ८७ दशमलव २ प्रतिशत कार्यक्रमहरू फत्ते गर्नु आफैँमा अभुतपूर्व काम भएको बताएका हुन्।
उनले विधेयकलगायतका विषयहरू सरकारको मात्रै नियन्त्रणमा नभएकाले सोचेअनुसार अघि बढ्न नसकेको उनको भनाइ थियो। उनले अर्थ मन्त्रालयले भने सय बुँदामध्ये आफ्नो जिम्मेवारीमा परेको सबै काम फत्ते गरेको बताए।
उनले भने, ‘सय दिनको प्रसंग आएको रहेछ। अघि नै मैले निवेदन गरिसकेँ– सरकारको आन्तरिक मूल्यांकनमा ८७ दशमलव २ प्रतिशत कार्यक्रमहरु फत्ते भएको छ। यो आफैमा अभूतपूर्व होला। आफैले एकदमै जटिल मापदण्ड तोकेर आफू त्यसैमा खरो उत्रनका लागि सरकारले आफूले इमान्दार रुपमा प्रयासरत छ। केही कामहरू निरन्तर छन्।’
अर्थमन्त्री वाग्लेले सरकारले निर्वाचनअघि जनतासामु गरेको वाचाअनुसार नै काम गरिरहेको बताए।
भर्खरै
लोकप्रिय
