धान खेत मासेर अलैँचीतिर आकर्षित इलाम माङ्सेबुङका किसान, वार्षिक लाखौँ आम्दानी

धान खेत मासेर अलैँचीतिर आकर्षित इलाम माङ्सेबुङका किसान, वार्षिक लाखौँ आम्दानी
+
-
देशसञ्चार AI सारांश
  • इलामको माङसेबुङ गाउँपालिकाका किसानहरूले परम्परागत खेती छाडेर अलैँचीखेतीमा लगानी गर्न थालेका छन्, जसले आर्थिक वृद्धि ल्याएको छ।

  • अलैँचीको बजार र मूल्य राम्रो भएपछि किसानहरू विदेशी रोजगारी त्यागेर व्यावसायिक खेतीमा केन्द्रित भइरहेका छन्।

  • माङसेबुङ गाउँपालिकाले किसानहरूलाई प्रोत्साहन गर्न बिरुवा वितरणको साथसाथै ५० प्रतिशत लागत साझेदारीमा सहयोग उपलब्ध गराएको छ।

फिक्कल (इलाम)- इलामको माङसेबुङ गाउँपालिकाका किसानहरू परम्परागत अन्नबाली छाडेर व्यावसायिक अलैँचीखेतीतर्फ आकर्षित भएका छन्।

कम मिहिनेत र थोरै लगानीमा मनग्य नाफा हुन थालेपछि यहाँका किसानहरूले धान फल्ने खेत र करेसाबारी मासेर धमाधम अलैँची रोप्न थालेका हुन्।

विगतमा ओसिलो पाखाभित्ता र खोलाखोल्सीमा मात्र सीमित अलैँचीखेतीले अहिले आधुनिक रूप लिन थालेको छ, जसका कारण स्थानीय किसानहरूको जीवनस्तरमा उल्लेखनीय सुधार आएको छ।यस वर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु एक लाख पुगेपछि किसानहरूको उत्साह थप चुलिएको छ।

माङसेबुङ–३ सिम्लेका किसान कृष्ण बुढाथोकीले २३ रोपनीमा जिर्मले जातको अलैँची लगाएर यस वर्ष रु १७ लाख आम्दानी गरेका छन्। बजार र मूल्य राम्रो भएपछि उनी विदेश जाने सोच त्यागेर आफ्नै भूमिमा व्यावसायिक खेतीमा जुटेका हुन्।

यस्तै, माङसेबुङ–२ का गणेश लिम्बूले २५ रोपनीमा रामशाही र गोलशाही जातको अलैँची खेती गरी रु १६ लाखभन्दा बढी कमाएका छन्। उत्पादित अलैँची किन्न व्यापारीहरू घरमै आइपुग्ने र यातायातको सहज पहुँच भएकाले किसानहरूलाई बजारको कुनै समस्या छैन।खेतीयोग्य जमिनमा खेती गर्ने जनशक्तिको अभाव र बालीनाली बाँदरले खाएर नष्ट गरिदिने समस्याका कारण पनि किसानहरू अलैँची रोज्न बाध्य भएका हुन्।

खेर गइरहेको, चिस्यानयुक्त, भिरालो र कमसल जग्गामा समेत यो खेती फस्टाउने गर्दछ। समुद्र सतहदेखि ६०० मिटरदेखि २१०० मिटरको उचाइ र १० देखि ३० डिग्री सेल्सियस तापक्रम हुने पहाडी क्षेत्र यसका लागि उपयुक्त मानिन्छ।

एकपटक रोपेपछि २० देखि २५ वर्षसम्म उत्पादन दिने यो बहुवर्षीय सदावहार बालीलाई वार्षिक २००० देखि २५०० मिलीमिटर वर्षा आवश्यक पर्दछ।मसलाका रूपमा प्रख्यात अलैँचीमा थुप्रै औषधीय गुणहरू पाइने विज्ञहरूको भनाइ छ। यसको सेवनले स्वर सफा गर्ने, टन्सिल निको पार्ने, मस्तिष्कलाई शान्त राख्ने तथा कलेजो र हृदयलाई बल प्रदान गर्दछ।

साथै, यसको बोक्राको धुलो नियमित सेवन गर्नाले पाचन प्रणाली र रक्तक्रिया व्यवस्थित भई मिर्गौलाका रोगहरू निको हुने विश्वास गरिन्छ।व्यावसायिक अलैँचीखेतीलाई थप प्रवर्द्धन गर्न माङसेबुङ गाउँपालिकाले यस वर्ष रु १ लाख ५० हजार विनियोजन गरी किसानलाई ५० प्रतिशत लागत साझेदारीमा १६ हजारवटा बिरुवा वितरण गरेको छ।

गाउँपालिकाका कृषि विकास शाखा प्रमुख प्रतिक सुनुवारका अनुसार किसानहरूलाई मागका आधारमा रामशाही, गोलशाही र भर्लाङ्गे जातका बिरुवाहरू उपलब्ध गराइएको हो।

गाउँपालिका अध्यक्ष हेमन्त राईले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको बताउँदै आगामी दिनमा पनि किसानलाई प्रोत्साहन गर्ने प्रभावकारी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…