- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिभिल अस्पतालको फार्मेसी शाखामा भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
- फर्मासिस्ट र स्टोरकिपरहरूको मिलेमतोमा औषधी बिना नै बिल जारी गरी २ करोड ९१ लाख हिनामिना भएको छ।
- अस्पतालको कम्प्युटर प्रणालीमा मौज्दात देखाइएका औषधी स्टोरमा नभेटिएपछि सन्तुलन परीक्षण नगरेको पाइएको छ।
काठमाडौँ – निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) नयाँबानेश्वरको फार्मेसी शाखामा औषधी खरिद तथा व्यवस्थापनमा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
अस्पतालका फर्मासिस्ट र स्टोरकिपरहरूको मिलेमतोमा २ करोड ९१ लाख ३४ हजार हिनामिना दाबीसहित अख्तियारले बुधबार मुद्दा दायर गरेको हो।
औषधी आपूर्तिकर्ताहरूसँगको मिलोमतोमा आपूर्ति नै नगरी बिल बिजक मात्र जारी गरेर रकम भुक्तानी गरिएको आयोगले जनाएको छ। अनुसन्धानका क्रममा अस्पतालको स्टोर तथा भर्याङ्गमा करोडौँ मूल्यका औषधीहरू म्याद गुज्रेर फालिएको अवस्थामा भेटिएको छ।
अनुसन्धानका क्रममा अस्पतालको कम्प्युटर प्रणालीमा मौज्दात देखाइएका औषधीहरू यथार्थमा स्टोरमा फेला नपरेको र अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ को प्रावधान उल्लंघन गर्दै प्रत्येक आर्थिक वर्षको अन्त्यमा अनिवार्य रूपमा गर्नुपर्ने सन्तुलन परीक्षण ९ट्रायल ब्यालेन्स० समेत नगरेको पाइएको छ।
त्यस्तै, सम्झौता बमोजिम बिक्री नभएका र ४ महिना मात्र म्याद बाँकी रहेका औषधीहरू आपूर्तिकर्ता फर्मलाई तुरुन्त फिर्ता गरी सोधभर्ना लिन कार्यकारी निर्देशकले दिएको जिम्मेवारीलाई फार्मेसी शाखाले पूर्णतः बेवास्ता गरेको पाइएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
अख्तियारले अस्पतालका फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दिपा ढुङ्गाना, फार्मेसी युनिट इन्चार्जहरू लबेन्द्र कुँवर, दिनेश पन्त, र दिपक सापकोटालाई प्रतिवादी बनाएको छ।
त्यसैगरी, स्टोरकिपर तथा वरिष्ठ फार्मेसी सहायकहरू विनोद पोखरेल र शर्मीला श्रेष्ठ, तथा फार्मेसी सहायकहरू केशव राज न्यौपाने र सन्दिप तिवारीलाई पनि विपक्षी बनाइएको छ।
भर्खरै
लोकप्रिय
