- मल्लले मौद्रिक नीतिको कार्यन्व्यन पाटो प्रभावकारी हुनु जरुरी रहेको र वित्तीय स्थायित्व कायम गर्न भूमिका महत्वपूर्ण रहेको बताए।
- व्यवसाय गर्ने लागत तथा ब्याजदर घटाउन ठोस कदम आवश्यक रहेको र निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्न सुझाव दिए।
- डिजिटल बैंकिङ प्रक्रिया सरल बनाउन केवाईसी प्रणाली लागु गर्न र सहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गर्न जोड दिए।
काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वित्तीय स्थायित्व कायम गर्नका लागि कार्यन्व्यनको पाटो प्रभावकारी हुनुपर्ने बताएका छन्।
आर्थिक गतिविधि चलायमान बनाउन मौद्रिक नीति समग्रमा सकारात्मक रहेको तर कार्यन्व्यन पाटो थप प्रभावकारी हुनुपर्ने मल्लको भनाइ छ।
राष्ट्रबैंकले सार्वजनिक गरेको मौद्रिक नीतिप्रति धारणा व्यक्त गर्दै निवर्तमान अध्यक्ष मल्लले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने र वित्तीय प्रणालीलाई थप सुदृढ बनाउने व्यवस्था स्वागतयोग्य रहेको उल्लेख गरे।
यद्यपि, निजी क्षेत्रले अपेक्षा गरेअनुसार व्यवसाय गर्ने लागत Cost Of Doing Business घटाउने, कर्जाको ब्याजदर तथा वित्तीय लागत कम गर्ने र उत्पादनमूलक क्षेत्रमा सहज तथा प्रभावकारी कर्जा प्रवाह सुनिश्चित गर्ने विषयमा अझ ठोस कदम आवश्यक रहेको मल्लको भनाइ छ।
मल्लले स्टार्टअप तथा नवप्रवर्तनशील व्यवसायका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिँदै एकद्वार केवाईसी प्रणाली कार्यान्वयन गरी बैंकिङ प्रक्रियालाई थप सरल, छरितो र डिजिटल बनाउन आग्रह गरे। वित्तीय क्षेत्रले डिजिटल प्रविधिको प्रभावकारी कार्यन्वयन गर्न सके अनावश्यक कागजी प्रक्रिया र ढिलाइ हट्ने मल्ले बताए।
नेपाल निर्जिवन बीमा वयवसायी संघका अध्यक्ष समेत रहेका अध्यक्ष मल्लले मौद्रिक नीतिको वास्तविक सफलता यसको प्रभावकारी कार्यान्वयन मा निर्भर रहने उल्लेख गरे।
अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंक र निजी क्षेत्रबीच सुदृढ समन्वय तथा सहकार्य अपरिहार्य रहेको मल्लले बताए। नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्न सके लगानी, उत्पादन, रोजगारी सिर्जना र आर्थिक वृद्धिले अपेक्षित गति लिने उनको विश्वास छ।
भर्खरै
लोकप्रिय
