काठमाडौँ – बौद्धिक सम्पत्ति संरक्षण तथा सुरक्षाका लागि उजुरी दिनेको संख्या बढ्दै गएको छ। कम्पनी तथा व्यक्तिहरू आफ्नो सिर्जना चोरी भएको भन्दै प्रतिलिपि अधिकार संरक्षणका लागि अदालतसँगै उद्योग विभागमा पुग्ने क्रम बढेको हो।
उद्योग विभागका उपसचिव श्रीकृष्ण पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म विभागमा ५ सय ७१ वटा उजुरी दर्ता भएका छन्। उनले यही आर्थिक वर्षभित्र विगतका वर्षमा परेका उजुरीसमेत गरेर ७ सय ३४ वटा उजुरीमाथि निर्णय गरिएको बताए।
काठमाडौँमा आयोजित अन्तर्क्रिया कार्यक्रममा विगत पाँच वर्षको तथ्यांक प्रस्तुत गर्दै उनले प्रतिलिपि अधिकारका लागि उजुरी दिनेको संख्या बढ्दै गएको जानकारी दिएका हुन्।
उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३ सय ३४ वटा उजुरी दर्ता भएकामध्ये १ सय ७० वटामा निर्णय भएको थियो। आर्थिक वर्ष २०७९/८० मा ३ सय उजुरी परेकोमा १ सय ५३ वटा टुंग्याइएको पौडेलले जानकारी दिए।
उनले आर्थिक वर्ष २०८०/८१ मा उजुरीको संख्या बढेर ५२४ पुगे पनि १११ वटामा मात्र निर्णय भएको बताए। उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ३ सय ८६ वटा उजुरी दर्ता भएकोमा अघिल्ला वर्षका मुद्दासमेत गरी ४ सय ८३ वटामा फैसला गरिएको बताए।
उनले जनशक्तिको अभाव र प्रमाण जुटाउने कार्यले गर्दा उजुरीउपर फैसलामा ढिलाइ हुने गरेको बताए।
भर्खरै
लोकप्रिय
