दोलखा –कालिन्चोक गाउँपालिकाले कृषि, पशुपक्षी फर्म तथा सहकारी संस्था ,ब्यक्तिसहित कृषक समूहलाई छानबिन गर्ने भएको छ।
आइतबार बसेको कालिन्चोक गाउँ सभा १७ ओैं अधिवेशनको निर्णयबाट २०७४ सालदेखि हालसम्म कृषि तथा पशुपक्षी फर्ममा अनुदान लगेर दुरूपयोग गर्ने ब्यक्ति तथा संस्थालाई कारबाही गर्ने भएकाे हाे।
‘पालिकाभित्र कृषि अनुदान लगेर काम नगरी दुरूपयोग गर्नेहरूलाई कारबाही हुन्छ’, गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले भने, ‘लक्षित वर्गको बजेट दुरूपयोग गर्नेहरूलाई पहिलो चरणमा सूचना जारी गर्छाैं र दुरूपयोग गरेकाे रकम फिर्ता नगरे कानुनी प्रक्रिया अगाडि बढाउँँछाैँ।’
उनले उक्त कार्यका लागि पालिकाले तीन सदस्यीय छानबिन समितिसमेत गठन गरेको जानकारी दिए।
पालिकाले छानबिन समितिमा गाउँ कार्यपालिका सदस्य भवानी थामीलाई संयोजक तोकी छानबिन गर्न अधिकार दिएको छ।
गाउँपालिकाले कार्यपालिका सदस्य रामकृष्ण त्रिपाठी र राजकुमार अधिकारी सदस्य छनोट गरेको छ भने अन्य सदस्यमा पालिकाको भेटेनरी शाखा प्रमुख र कृषि शाखा प्रमुख रहेका छन्।
भर्खरै
लोकप्रिय
