- काठमाडौँमा सञ्चालित तीन सञ्चार संस्थाका कार्यालय अगाडि राखिएका शंकास्पद गाडीहरुले कर्मचारीहरूको काममा बाधा पुऱ्याएको छ।
- पत्रकार महासंघले शंकास्पद गाडी राखेर आतंकित बनाउने प्रयासको विरोध गर्दै संलग्न व्यक्तिलाई कारबाहीको माग गरेको छ।
- गाडी राखिएको घटनालाई गणेश नेपाली आत्मदाह प्रकरणसँग जोड्दै यसले मिडियालाई तर्साउनका लागि गरिएको आरोप लगाइएको छ।
काठमाडौँ– काठमाडौँबाट सञ्चालित कान्तिपुर, अनलाइन खबर र हिमालयन टेलिभिजनको कार्यालयमा शंकास्पद गाडी राखिएको छ।
निजी नम्बर प्लेटका गाडी सोमबार बिहान करिब ७ बजेतिर कार्यालय अगाडि राखिएको पत्रकार महासंघले जानकारी गराएको छ।
तीनकुनेस्थित कान्तिपुरको कार्यालयमा बा प्रदेश ०१ ०३४ च ८४८० नम्बरको गाडी राखिएको छ भने नयाँ बानेश्वरस्थित अनलाइन खबरको कार्यालय अगाडि बा १२ च ८५४५ नम्बरको गाडी राखिएको छ।
यस्तै मध्येबानेश्वरस्थित हिमालयन टेलिभिजनको कार्यालय अगाडि बा १० च १२५५ नम्बरको गाडी राखिएको छ। ती गाडी कसले राखेका हुन् भन्ने विषय खुलेको छैन।
प्रहरीले गाडी धनी खोज्ने काम भइरहेको जानकारी दिएको छ। यी गाडी कार्यालयका अगाडि राखिँदा कार्यालयका कर्मचारीलाई आवतजावतमा समस्या सृजना भएको छ।
कार्यालय अगाडि शंकास्पद गाडी राखेर आतंकित पार्न खोजिएको भन्दै पत्रकार महासंघले आपत्ति जनाएको छ। महासचिव रामप्रसाद दाहालले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै यस कार्यमा संलग्नलाई कारबाही गर्न माग गरेका छन्।
अनलाइन खबरका प्रधान सम्पादक बसन्त बस्नेतले शंकास्पद गाडी राखिएको विषयलाई आत्मदाहको प्रयासपछि मृत्युवरण गरेका गणेश नेपालीको घटनासँग जोडेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मिडियालाई तर्साउन यस्ता कार्य गरिएको भन्दै नर्सिने बताएका छन्। ‘गणेश नेपाली आत्मदाह लगायत विषयमा तालुकदार निकायको जिम्मेवारी र जवाफदेहिता चाहिएको थियो। र चाहिएको थियो आइन्दा यस्ता घटना सकभर नहुन् भन्नेगरी यथोचित कदम’, उनले लेखेका छन् ‘तर राज्य संवेदनशील अभिभावक र सबैलाई जोड्ने कनेक्टर बनोस् भन्ने अपेक्षालाई नै हास्यास्पद बनाउने गरी मिडिया हाउसका गेटमा शंकास्पद गाडी राखिएका छन्। तर्साउन गरेका हौ यो सब, तिमीहरुले। तर्सिन्नौं। आफ्नो जिम्मेवारी पूरा निष्ठा र संकल्पका साथ पूरा गर्छौं।’

हिमालयन टेलिभिजन अगाडि राखिएको गाडी

अनलाइन खबरको अगाडि राखिएको गाडी

क्रेनमार्फत हटाइँदै कान्तिपुर अगाडि राखिएको गाडी
तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी
भर्खरै
लोकप्रिय
