- चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई रेडियो कलर जडान गरी गतिविधि निगरानीको व्यवस्था गरेको छ।
- रेडियो कलरमार्फत हात्तीको अवस्थाबारे जानकारी प्राप्त भई जिपिएस ट्र्याकिङद्वारा निगरानी गर्न सजिलो भएको छ।
- हात्तीको आक्रमणमा परेर मृत्युवरण गरेका घटनापछि निकुञ्जले हात्ती खोजी र निगरानी सम्बन्धी प्रक्रिया बढाएको छ।
चितवन- चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हात्तीलाई डार्ट (बेहोस बनाउने औषधि) गरी रेडियो कलर लगाइएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई डार्ट गरी घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको छ । त्यसपछि दाह्रा काटेर छाडिएको हो ।
रेडियो कलर जडानपछि हात्तीको अवस्थाबारे छोटो समयमै जानकारी प्राप्त हुने र जिपिएस ट्र्याकिङमार्फत गतिविधि निगरानी गर्न सकिने उनले बताए।
निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गण, निकुञ्जका प्राविधिक कर्मचारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकसहितको टोलीले हात्तीलाई रेडियो कलर जडान गरेको हो ।
गत असार २० गते भरतपुर–२३ मा सोही हात्तीको आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको मृत्यु भएपछि निकुञ्जले हात्तीको खोजी र निगरानी बढाएको थियो ।
प्रतिकूल मौसम र घना झाडीका कारण हात्तीलाई नियन्त्रणमा लिन समय लागेको निकुञ्जले जनाएको छ । निकुञ्जले स्थानीय बासिन्दालाई सचेत रहन, जारी सूचनाको पालना गर्न र जङ्गली हात्ती देखिए तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ ।
भर्खरै
लोकप्रिय
