- धौलागिरि गाउँपालिका–२ लुलाङमा १० दिनदेखि विद्युत्गृहमा चट्याङले क्षति पुगेका कारण विद्युत् सेवा अवरुद्ध छ।
- चट्याङले क्षति गरेको विद्युतगृहको एलसी प्लेट मर्मतका लागि बुटवल पठाइएको छ, जसले ४०० घर प्रभावित भएका छन्।
- विद्युत् अभावले स्थानीय बासिन्दाको दैनिक जीवन प्रभावित भएको छ, विशेष गरी पठनपाठन र सञ्चार सेवामा समस्या छ।
म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध बनेको छ । दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृहका उपकरणमा चट्याङले क्षति पु¥याएपछि यस परियोजनाबाट विद्युत् सेवा उपभोग गरिरहेका करिब ४०० घर विद्युत् सुविधाबाट वञ्चित भएका छन् ।
चट्याङले विद्युत्गृहको एलसी प्लेट जलेको र उपकरण मर्मतका लागि बुटवल पठाइएको परियोजनाका अपरेटर हर्कबहादुर पुर्जाले जानकारी दिए । उनका अनुसार यस परियोजनाबाट लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दाले विद्युत् सुविधा उपभोग गर्दैै आएका थिए ।
पचास किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनामा प्राकृतिक प्रकोप र चट्याङको कारण स्थानीयले हरेक वर्ष सास्ती बेहोर्दै आएका छन् । विद्युत् अभावमा रातको समयमा सिङ्गो वडा अन्धकार बनेको छ भने विद्यार्थीलाई पठनपाठन, घरेलु उद्योग सञ्चालन र वडा कार्यालयको सेवा प्रवाहमा समेत समस्या भएको छ ।
मोबाइललगायतका विद्युतीय सामग्रीको चार्ज गर्ने प्रबन्ध नहुँदा यहाँ सञ्चार सेवा प्रभावित बनेको छ । गत जेठ महिनामा लुलाङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको भए पनि स्थानीयवासीको घरमा मिटरबक्स जडान र वायरिङ नहुँदा अहिलेसम्म केन्द्रीय विद्युतीकरण प्रयोगमा आएको छैन ।
भर्खरै
लोकप्रिय
