- डोनाल्ड ट्रम्पले हर्मुज स्ट्रेटलाई तत्काल खोल्न दबाब दिँदै इरानलाई ऊर्जा केन्द्र र पुलहरू ध्वस्त पार्ने धम्की दिएका छन्।
- इरानले ट्रम्पको चेतावनीलाई मूर्खतापूर्ण भन्दै खारेज गरेको र क्षतिपूर्ति सुनिश्चित नभएसम्म स्ट्रेट नखोल्ने बताएको छ।
- हर्मुज स्ट्रेटको अवरोधले तेल आपूर्ति संकट पैदा गरेको छ भने इज़रायलले इरानमा आक्रमण जारी राखेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा र अपशब्दयुक्त चेतावनी दिँदै स्ट्रेट अफ हर्मुज तत्काल खोल्न दबाब दिए लगत्तै इरानले पनि जवाफी चेतावनी दिएको छ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै इरानले हर्मुज नखोले ऊर्जा केन्द्र र पुलहरू ध्वस्त पार्ने धम्की दिएका छन्। उनले यसअघि पनि ‘नरक बनाउने’ चेतावनी दिँदै आएका छन्। उनले वार्ताबाट समाधान नआए कठोर कदम चाल्ने संकेत दिएका थिए।
तर, इरानले ट्रम्पको अल्टिमेटमलाई ‘निराश, असन्तुलित र मूर्खतापूर्ण’ भन्दै खारेज गरेको छ। इरानी पक्षका अनुसार युद्धका कारण भएको क्षतिको क्षतिपूर्ति सुनिश्चित भएपछि मात्र हर्मुज स्ट्रेट पुनःपूर्ण रूपमा खोलिने जनाएको छ। साथै, इरानले उक्त मार्ग प्रयोग गर्ने जहाजहरूबाट शुल्क उठाउने योजना समेत अघि सारेको जनाएको छ।
यसैबीच, हर्मुज स्ट्रेटमा आवागमन अवरुद्ध हुँदा विश्व बजारमा तेल तथा ग्यास आपूर्ति प्रभावित भएको छ। विश्वमा ठुलो मात्रामा ऊर्जा यही मार्ग हुँदै जाने भएकाले यसको असर विश्वव्यापी महंगी बढ्न सुरु भइसकेको छ।
यसैबीच, इजरायल ले इरानका पूर्वाधारहरूमा आक्रमण जारी राखेको छ। पछिल्लो पटक पेट्रोकेमिकल उद्योगमा आक्रमण भएको छ भने आगामी दिनमा थप ऊर्जा संरचनामा प्रहार गर्न अमेरिकी स्वीकृतिको प्रतीक्षा भइरहेको बताइएको छ।
इरानले पनि प्रतिक्रिया स्वरूप इजरायल र अमेरिकी सहयोगी राष्ट्रहरूतर्फ ड्रोन तथा क्षेप्यास्त्र प्रहार जारी राखेको छ।
इजरायलको हाइफा सहरमा क्षेप्यास्त्र लाग्दा चार जना घाइते भएका छन् भने अबुधाबी मा इरानी आक्रमणका अवशेषका कारण पेट्रोकेमिकल उद्योगमा आगलागी भएको जनाइएको छ।
ट्रम्पले हर्मुज स्ट्रेट खोल्ने समयसीमा पटक-पटक सार्दै आएका छन्। पछिल्लो पटक उनले मंगलबार राति (अमेरिकी समय अनुसार) सम्मको नयाँ समयसीमा दिएका छन्। यद्यपि, उनले वार्ताबाट समाधान निस्कने सम्भावना कमजोर रहेको पनि बताएका छन्।
भर्खरै
लोकप्रिय
