काठमाडौँ – नेपालस्थित गणतन्त्र कोरियाली दूतावासको आयोजनामा काठमाडौँको ठमेलस्थित छाया सेन्टरमा ‘२०२६ के–भाइब महोत्सव: सौन्दर्यता र स्वाद’ आयोजना गरिएको छ।
शनिबार आयोजित कार्यक्रममा ८ वटा कोरियाली कस्मेटिक स्टल, काठमाडौँस्थित कोरियाली रेस्टुरेन्ट एसोसिएसनबाट ६ वटा स्वादिष्ट भोजनालयका स्टलका साथै कोरियाली सरकारी संस्था कोइका, कोपिया सेन्टर, ईपीएस सेन्टरलगायतको सहभागितामा थियो।
राजदूत पार्क थेयङले महोत्सवमा मन्तव्य राख्दै कोरियाली सौन्दर्य के-ब्युटीलगायत विभिन्न प्रदर्शनको समायोजना हुनुलाई अर्थपूर्ण अवसरको रूपमा प्रकाश पारे। उनले कार्यक्रमले नेपालका युवापुस्तालाई आफ्नो पहिचानको संरक्षण गर्दै विश्वव्यापी प्रवृत्तिहरूसँग जोडने अवसर हुने धारणा राखे।

त्यसैगरी राजदूत पार्कले नेपालमा कोरियाली संस्कृतिको बढ्दो लोकप्रियता बढ्दै जानुका साथै दुई देशको साँस्कृतिक समानताको बारेमा बताएका थिए। कार्यक्रममा के-ब्युटी, के-पप, तथा कोरियाली परिकारको स्वाद लिने अवसर एकै स्थानमा समावेश हुनु अर्थपूर्ण रहेको उल्लेख गरे।
उक्त कार्यक्रम कोरियाली सरकारको के-भाइब साँस्कृतिक सम्बन्ध विस्तारको एक भागको रूपमा दूतावासद्वारा आयोजना गरिएको हो। के-ब्युटी, के-पप, के-फूड, फोटो बुथ, कोरियाली हाजिरी जवाफ र हानबोक पहिरनको अनुभव गराएर नेपाली युवापुस्ताका लागि नेपालमा नै सबै किसिमको कोरियाली अनुभव लिने अवसर प्रदान गरिएको थियो। कार्यक्रममार्फत के-सौन्दर्यप्रेमीहरूले उच्च विशिष्टीकृत के-सौन्दर्य र छाला हेरचाह सुझाव, के-मेकअप कक्षाहरूमा पनि सहभागी हुने अवसर प्राप्त गरेका थिए।

गणतन्त्र कोरियाली दूतावासले नेपालमा हरेक वर्ष विभिन्न आकर्षक साँस्कृतिक कार्यक्रमहरूमार्फत दुई देशबीच जनस्तरको सम्वन्ध विस्तार गर्न सक्रिय भूमिका खेल्दै आएको छ।
महोत्सवमा नेपाली युवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कोरियाली संस्कृति, खाना र सौन्दर्यप्रति नेपाली युवाहरूको बढ्दो आकर्षणलाई सम्बोधन गर्ने उद्देश्यले आयोजित महोत्सवमा २ हजार ३०० जनाभन्दा बढी युवा, सरोकारवाला तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको दूतावासले जनाएको छ।

भर्खरै
लोकप्रिय
