- काठमाडौँ जिल्ला अदालतमा अन्तिम सुनुवाइको क्रममा वादी नेपाल सरकारका तर्फबाट बहस बिहीबार सकिएको छ।
- वादीका तर्फबाट अधिवक्ता स्वागत नेपालले केपी ओली र अन्यलाई बयानका लागि बोलाउनुपर्ने माग गरेका छन्।
- पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्रीसहित ३० जनाविरुद्ध ठगी र राज्यविरुद्ध अपराध मुद्दा दायर गरिएको थियो।
काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन वर्षअघि दायर भएको मुद्दामा अन्तिम सुनुवाइले बिहीबार पनि निरन्तरता पाएको छ।
बुधबारदेखि न्यायाधीश तेजबहादुर खड्काको इजलास अन्तिम सुुनुवाइ सुरु भएको मुद्दामा बिहीबार वादी नेपाल सरकारका तर्फबाट बहस सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए। शुक्रबार जाहेरवालाका वकिललाई बहसका लागि समय दिने इजलासको तयारी छ।
बिहीबार वादीका तर्फबाट बहस गर्दै अधिवक्ता स्वागत नेपालले यो प्रकरणमा केपी ओली, आरजु राणा, ओलीका स्वकीय राजेश बज्राचार्यसहितलाई बयानका लागि बोलाउनुपर्ने जिकिर गरेका थिए।
सामान्यतया जिल्ला अदालतमा दुई वर्षभित्रै सबै मुद्दाको किनारा लाइसक्ने भए पनि प्रभावशाली व्यक्तिहरु जोडिएको यो मुद्दामा भने ढिलो गरी अन्तिम सुनुवाइ थालिएको हो। गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा अदालतसमेत निशासनमा परेपछि यसको सुनुवाइ थप ढिलाइ हुन पुगेको थियो। अब भने मुद्दालाई किनारा नै लगाउने गरी अन्तिम सुनुवाइ थालिएको जिल्ला अदालतले जनाएको छ।
तेस्रो देश बसोबासको अवसर पाएका भुटानी शरणार्थीहरुको नाममा गृहमन्त्रालयका उच्च अधिकारी र प्रभावशाली राजनीतिक व्यक्तिको आडमा नेपालीसँग मोटो रकम लिएर शरणार्थी बनाएर पठाइएको थियो। भुटानी शरणार्थी छुटेको भन्दै छानबिन समितिका नाममा नेपाली नागरिकलाई समेत सूचीमा राखेर पठाइएपछि प्रकरण बाहिरिएको थियो।
सिआइवीको छानबिनपछि २०८० जेठमा सरकारी वकिल कार्यालयले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। उनीहरुविरुद्ध सरकारी कागजात किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधको अभियोग लगाइएको थियो।
नेता टेकनाथ रिजाल, गिरोहका मुख्य केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, सन्दीप रायमाझी, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी र केही समयपछि बेचन झासमेत पक्राउ परेका थिए।
सिआइबीले अनुसन्धानका क्रममा १८ जना पक्राउ गरेको थियो।
जिल्ला अदालतले धेरै जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। उच्च हुँदै आफू समक्ष आइपुगको थुनछेकको निवेदनमा सर्वोच्चले रायमाझी, पाण्डे, भण्डारी, दुलाल, सन्देश, इन्द्रजित र सागर राईलाई थुनामा पठाउने आदेश दिएको थियो। आदेशअनुसार उनीहरुले अहिले पनि थुनामै छन्।
आङटावा शेर्पा र गोविन्द चौधरी सर्वोच्चले धरौटीमा रिहा गरेको थियो भने पूर्वगृहमन्त्री खाँडलाई उच्च अदालत पाटनले नै धरौटीमा छाडेको थियो।
भर्खरै
लोकप्रिय
