- सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भिडियोबारे आफ्नो स्पष्टिकरण सार्वजनिक रुपमा व्यक्त गरेकी छन्।
- उनले उक्त भिडियो आफू सांसद नहुँदै खिचिएको र व्यक्तिगत यात्रामा भएको प्रस्ट्याइन्।
- उनले ट्राफिक नियम पालनाको महत्व र भविष्यमा यस्त्रा गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले कारको झ्यालबाट टाउकाे निकालेर खिचेको भिडियोबारे सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिएकी छन्।
सांसद भट्टराईको उक्त भिडियोको सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि उनले प्रस्टीकरण दिएकी हुन्।
उनले उक्त भिडियो आफू सांसद हुनुभन्दा अगाडिको भएको र कहिलेकाहिँ व्यक्तिले ट्राफिक नियम पालना नगर्ने उल्लेख गरेकी छन्।
उनले फेसबुकमा लेखेकी छन्-
हालै सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरूमा मेरो एउटा पुरानो भिडियो व्यापक रूपमा साझा भइरहेको प्रति मेरो ध्यानाकर्षण भएको छ। उक्त भिडियोमा म सवारी साधनको चालक नभई यात्रुको रूपमा यात्रा गरिरहेको अवस्थामा देखिन्छु, जहाँ केही क्षणका लागि कारको झ्यालबाट बाहिर हेर्दै तथा रमाइलो गरिरहेको दृश्य देखाइएको छ।
साथै, यो सन्दर्भमा एउटा महत्वपूर्ण पक्ष उल्लेख गर्न चाहन्छु। जीवनको कुनै न कुनै चरणमा अधिकांश व्यक्तिहरूले उत्साह, उमेर वा परिस्थितिका कारण यस्ता केही व्यवहार गरेका हुन सक्छन्, जुन ट्राफिक नियम तथा सडक सुरक्षाको दृष्टिकोणले उपयुक्त नहुन सक्छन्। भिडियोमा देखिएको व्यवहारलाई पनि त्यसै सन्दर्भमा बुझिनु उचित हुनेछ। यद्यपि, सडक सुरक्षा र ट्राफिक नियमहरूको पालना सबैको साझा जिम्मेवारी हो भन्ने कुरामा म पूर्ण रूपमा विश्वास गर्दछु। विगतका यस्ता अनुभवहरूबाट सिक्दै भविष्यमा म स्वयंले पनि यस्ता गतिविधि दोहोर्याउने छैन र सम्पूर्ण नागरिकहरूलाई समेत ट्राफिक नियमहरूको पूर्ण पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गर्दछु। यसलाई आलोचना वा विवादको विषयभन्दा पनि सडक सुरक्षा सम्बन्धी सचेतनाको अवसरका रूपमा लिन सकिन्छ भन्ने मेरो अपेक्षा छ।
कुनै एउटा छोटो भिडियो वा सीमित दृश्यका आधारमा व्यक्तिको चरित्र, जिम्मेवारीबोध वा सार्वजनिक प्रतिबद्धताको मूल्याङ्कन गर्नु भन्दा उसको कार्यसम्पादन, व्यवहार र योगदानलाई समग्र रूपमा हेर्नु उपयुक्त हुन्छ भन्ने मेरो धारणा छ।
म आफ्नो जिम्मेवारीप्रति पूर्ण रूपमा प्रतिबद्ध छु र जनताको विश्वासलाई सम्मान गर्दै इमान्दारिता, जवाफदेहिता र समर्पणका साथ आफ्नो दायित्व निर्वाह गरिरहनेछु। मप्रति विश्वास र सद्भाव राख्नुहुने सम्पूर्ण नागरिक तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
भर्खरै
लोकप्रिय
