- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दसौँ राष्ट्रिय खेलकुदका लागि सरकारको ८० करोड बजेट छुट्याएको बताएका छन्।
- सुर्खेत भ्रमणमा पोखरेलले खेलकुद प्रतियोगिता तोकिएको समयमै सम्पन्न हुने भन्दै बजेट सुनिश्चित भएको बताए।
- कर्णाली प्रदेशले खेलकुद तयारीका लागि नौ करोड र विभिन्न खेल मैदानका लागि १९ करोड बजेट विनियोजन गरेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारले ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन्।
सुर्खेतस्थित खेलकुद पूर्वाधारहरूको मंगलबार निरीक्षण गर्दै मन्त्री पोखरेलले आवश्यक बजेट सुनिश्चित भएकाले प्रतियोगिता तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे।
‘सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ८० करोड रुपैयाँ बजेट छुट्याइएको छ,’ मन्त्री पोखरेलले भने, ‘अब निर्धारित समयमा प्रतियोगिता सम्पन्न हुन्छ।’
निरीक्षणका क्रममा उनले फुटबल मैदान, भलिबल कोर्ट, ब्याडमिन्टन कोर्ट, क्रिकेट प्रशिक्षण हल, मार्सल आर्ट्स भवन, स्विमिङ पुललगायत निर्माण सम्पन्न तथा निर्माणाधीन संरचनाको अवलोकन गरेका थिए।
बुधबार हुने मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहका लागि मन्त्री पोखरेल सुर्खेत पुगेका थिए।
कर्णाली प्रदेश खेलकुद विकास परिषद् सदस्यसचिव रवीन्द्र चन्दले कर्णालीमा प्रस्तावित दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश सरकारले नौ करोड रुपैयाँ विनियोजन गरिएको बताउँदै वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रंगशाला सम्पन्न गर्न थप नौ करोड तथा अन्य जिल्लाका खेलमैदान तथा कभर्डहल निर्माणका लागि १० करोड बजेट विनियोजन गरेको जानकारी दिए।
भर्खरै
लोकप्रिय
