- सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु भइसकेको छ, जुन नेपालमा हालसम्मकै ठूलो व्यासको पाइप हो।
- भक्तपुर, कीर्तिपुर, मध्यपुरथिमि, कपन, जोरपाटी र पेप्सीकोलामा खानेपानी वितरण विस्तार गर्दै अन्य क्षेत्रमा पनि प्रक्रिया अगाडि बढाउने तयारी छ।
- बाँकी काम सम्पन्न भएपछि प्रणाली काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई हस्तान्तरण गरी मेलम्चीको पानी नियमित वितरण गरिनेछ।
काठमाडौँ- मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ ।
आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार यो नेपालमा पिआइडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो साइज (व्यास) को पाइप हो ।
भक्तपुर, कीर्तिपुर, मध्यपुरथिमि, कपन, जोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अगाडि बढाइएको निर्देशनालय प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।
“पाँच क्षेत्रमा खानेपानी वितरण सञ्जाल विस्तारका लागि बोलपत्र आह्वान भइसकेको छ । अब चाँडै अन्य प्रक्रिया सुरु हुन्छ”, इन्जिनियर श्रेष्ठले भने।
उनका अनुसार मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पुर्याउन निर्देशनालयले दिन तथा रात दुवै सिफ्टमा कामम भइरहेको छ ।
हाल विभिन्न स्थानमा ‘रिजर्भ’ ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेका आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
बिछ्याइएका पाइपको परीक्षण सम्पन्न भएपछि सम्पूर्ण प्रणाली काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण गरिने जनाइएको छ ।
‘सिस्टम’ हस्तान्तरणपछि काठमाडौँवासीका घरघरमा नियमित रूपमा मेलम्चीको पानी वितरण गरिने अपेक्षा गरिएको प्रमुख एवं इन्जिनियर श्रेष्ठले बताए।
भर्खरै
लोकप्रिय
