- काठमाडौँको माइतीघरमा दृष्टिविहीनहरूले बालेन्द्र शाहको सरकारले गरिखान नदिएको भन्दै प्रदर्शन गरेका छन्।
- स्वरोजगार प्रस्तुतिहरू गर्दा नगरप्रहरीले हस्तक्षेप गरेपछि प्रदर्शन गर्नुपरेको दृष्टिविहीन समूहका संयोजकले बताए।
- दृष्टिविहीनहरूले रोजगारी र २० हजार मासिक बेरोजगार भत्ताको माग गर्दै सरकारलाई चेतावनी दिए।
काठमाडौँ– वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले रोजगारी गरेर खान नदिएको भन्दै दृष्टिविहीनहरूले प्रदर्शन गरेका छन्।
सोमबार काठमाडौँको माइतीघरमा उनीहरूले सडकपेटी, मठमन्दिर, चोकलगायतका क्षेत्रमा बसेर गरिखान नदिएको भन्दै प्रदर्शन गरेका हुन्।
सडकमा गीत गाउँदा, घुमेर धुप बत्ति बेच्दा, वेट (नाम लिने) मेसिन राखेर रोजगारी गर्दा नगरप्रहरीले धरपकड गर्ने गरेको, होल्डिङ सेन्टरमा दिनभर थुनेर साँझ परेपछि छाड्ने गरेकाले प्रदर्शन गर्नुपरेको सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहका संयोजक सुदीप ओलीले बताए।
उनले सरकारले आफूहरुलाई विनाविकल्प सडकमा समेत गरिखान नदिएको भन्दै आक्रोश व्यक्त गरे। ‘आज बालेन सरकारले हामीलाई बाँच्न दिएन। किनभने गाँस, बास, कपासको ग्यारेन्टी गरिदिएन। हामीले धुपहरु बेच्थ्यौँ। कतिले वेट मेशिनहरू राख्थ्यौं सडक, चोक, मठमन्दिरहरुमा। कतिले त कला, गला देखाएर गीतहरू गाएर सहयोग उठाएर खाने काम गरिराखेका थियौँ। तर बालेन सरकारले त्यो हामीलाई दिएन’, ओलीले भने ‘नगर प्रहरीहरू आएर दमन गर्ने। होल्डिङ सेन्टरमा लगेर दिनभर थुन्ने, साँझ परेपछि छोडिदिने गरेको छ।’
उनले महिलाहरूमाथि हातपात पनि हुने गरेको गुनासो गरे। राज्यले कि गरिखान दिनुपर्ने कि बेरोजगार भत्ता महिनाको २० हजार दिनुपर्ने उनको माग छ।
उनीहरुले दैनिक बिहान नौ बजेदेखि १२ बजेसम्म सरकारले आफूहरुलाई बाँच्नका लागि बैकल्पिक व्यवस्था नगरेसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन्। दृष्टिविहीनहरूलाई योग्यता र क्षमताको आधारमा भत्तासहित रोजगारीको व्यवस्था गर्नुपर्ने उक्त समूहको माग छ।
–न्यूज एजेन्सी नेपाल
भर्खरै
लोकप्रिय
