- राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका लागि तीन हजार ८४९ प्रतिनिधिको नामावली छानबिनपछि निर्धारण गरियो।
- प्राविधिक समस्याका कारण बन्दसत्र सुरु हुने समय फेरबदल भई अब २ः०० बजेपछि मात्र सुरु हुनेछ।
- बन्दसत्रमा अनुशासन आयोग, आर्थिक, विधान, साङ्गठनिक र राजनीतिक प्रस्तावमाथि छलफल गरिने तयारी भइरहेको छ।
चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको उक्त सङ्ख्या निर्धारण भएको हो ।
अझै लम्बियो बन्दसत्र सुरु हुने समय
हिजो सोमबार बिहान ८:३० बजेबाट सुरु हुने भनिएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रको समय लम्बिने क्रम जारी छ। हिजोबाट सरेर आज दिउँसो १ बजेबाट सुरु हुने भनिए पनि आज पनि दिउँसो २ः०० बजे पहिले सुरु हुने अवस्था नरहेको पार्टीका एक नेताले जानकारी दिएका छन्।
प्राविधिक कारणले एक दिन ढिलाइ भएको भन्दै अब २ः०० बजेपछि मात्र सुरु हुने रास्वपा चितवनका सभापति मिनीमाधव खनालले जानकारी दिएका छन्।
केहीबेर अघिदेखि महाधिवेशन परिचयपत्र वितरण कार्य सुरु भएको छ। महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने काम गर्न बढी समय लागेकाले महाधिवेशनको बन्दसत्र पछि सरेको बताइएको छ। कार्ड वितरणपछि पूर्ववत् तालिकाअनुसार नै बन्दसत्र सञ्चालन गरिने जनाइएको छ।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रस्तुत गर्नुहुने आयोगको प्रतिवेदनमाथि छलफल हुनेछ। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्ने आर्थिक प्रतिवेदनमाथि बन्दसत्रमा छलफल गरिने कार्यतालिकामा उल्लेख छ।
त्यसैगरी, पार्टीका सहमहामन्त्री विपीनकुमार आचार्यले विधानमाथिको संशोधन प्रस्ताव, महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन र उपसभापति डा.स्वर्णिम वाग्लेले पार्टीको अर्थ तथा राजनीतिक प्रस्ताव अलगअलग रूपमा प्रस्तुत गर्नेछन्।
बन्दसत्रका क्रममा पार्टीका पदाधिकारीहरूबाट प्रस्तुत हने उल्लिखित प्रस्ताव पास भएपछि पार्टी सभापति रवि लामिछानेले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि बन्दसत्रमा छलफल हुने रास्वपाले जनाएको छ।
यसैबीच, पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणासहित आयोजक समितिको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने प्रस्ताव गर्नेछन्। त्यसपछि आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने कार्यतालिका रहेको छ।
आइतबार दिउँसो भरतपुरस्थित गेस्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदैछ।

भर्खरै
लोकप्रिय
