काठमाडौँ – कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीहरू सरकारले स्थायी आवासको व्यवस्था गर्नुको साटो २५ हजार रुपैयाँ दिएर जबरजस्ती हटाउन खोजेको भन्दै आक्रोशित भएका छन्।
सरकारले पाँच दिनभित्र २५ हजार रुपैयाँ लिएर आफैँ व्यवस्थापन गर्न र होल्डिङ सेन्टर छोड्न दबाब दिएपछि पीडितहरूआक्रोशित बनेका हुन्। हाल उक्त होल्डिङ सेन्टरभित्र फोटो र भिडियो खिच्नसमेत प्रशासनले रोक लगाएको छ।

बागमती सभ्यता एकीकृत विकास समितिले सेन्टरमा रहेका सुकुम्बासीहरूलाई असार १२ गतेभित्र उक्त ठाउँ खाली गर्न सूचना जारी गरेको छ। समितिले सरकारले दिने भनेको २५ हजार रुपैयाँ भुक्तानीका लागि पीडितहरूसँग बैंक खाताको विवरण माग गरेको छ।
तर, सुकुम्वासीहरूले भने सरकारले व्यवस्थित बसोबासको ग्यारेन्टी गर्न नसकेर आफूहरूलाई पन्छाउन मात्र खोजेको बताएका छन्।

सुकुम्वासीहरूले होल्डिङ सेन्टरबाहिर ‘पीडितहरूको सरोकार पत्र’ टाँसेर आफूहरूलाई उचित व्यवस्थापन नगरे पुरानै ठाउँमा फर्किने चेतावनी दिएका छन्। उनीहरूले आफूहरूलाई स्थायी विकल्प र बस्ने ठाउँ नदेखाई जबरजस्ती निकालिएमा पुरानै बस्तीमा फर्केर पुनः छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन्।


तस्बिरहरू: सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
भर्खरै
लोकप्रिय
