काठमाडौँ- जर्मन सरकारले नेपालको राहदानी छाप्ने ठेक्का पाएका दुई जर्मन कम्पनीहरूलाई बिनाप्रमाण भ्रष्टाचारको आरोप लगाइएको भन्दै गम्भीर आपत्ति जनाएको छ। जर्मनीको राजधानी बर्लिनमा बिहीबार जर्मन विदेश मन्त्रालयले नेपालका कार्यबाहक राजदूत सागरप्रसाद फुयाँललाई कार्यालयमै बोलाएर उक्त घटनामा कडा आपत्ति जनाउँदै लिखित विरोधपत्र दिएको छ।
नेपाल सरकारलाई दिइएको विरोधपत्रमा जर्मन सरकारको स्वामित्व रहेको कम्पनी ‘भेरोडोस’ र अर्को निजी जर्मन कम्पनी ‘म्युल्बाउअर आइडी सर्भिसेस’ लाई नेपालमा भ्रष्टाचार मुद्दा लगाएकोमा जर्मन सरकारको गम्भीर चासो रहेको उल्लेख गरिएको उच्च स्रोतले जानकारी दिएको छ।
राहदानी ठेक्कामा भ्रष्टाचार गरेको भन्दै मुद्दा चलाइए पनि अदालतमा पेस गरिएको अभियोगपत्रमा भ्रष्टाचारको कुनै पनि प्रमाण उल्लेख नभएको पनि जर्मन सरकारले विरोधपत्रमा उल्लेख गरेको छ।
जर्मन कम्पनीका कर्मचारीहरूलाई अभियोग लगाएर कम्पनीको प्रतिष्ठामा हानि पुर्याएको भन्दै जर्मन सरकारले विरोध प्रकट गरेको छ। जर्मन कम्पनीहरूसँग गरिएका करार योजनाबद्ध रूपमा रद्द गरिए त्यसले जटिल कानुनी र आर्थिक जोखिम ल्याउने चेतावनी पनि जर्मन सरकारले दिएको स्रोतले जानकारी दिएको छ।
जर्मन विदेश मन्त्रालयले नेपालका कार्यवाहक राजदूतलाई बुझाएको लिखित विरोधपत्रमा आफ्नो कम्पनीका कर्मचारी नयाँ राहदानी छपाइ सुरू गर्न आउँदो साता नेपाल आउने जानकारी दिँदै ती कर्मचारीको सुरक्षाको सुनिश्चिततामा पनि जोड दिएको छ।
राहदानी छपाइका लागि दुईवटा जर्मन कम्पनीले ठेक्का पाएको छ। खरिद प्रक्रियामा प्याकेज १ अन्तर्गत म्युल्बाउअर आइडी सर्भिसेसले पासपोर्टको प्रि-इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमनेट सिस्टमको ठेक्का पाएको थियो। प्याकेज २ मा भेरोडोसले पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङ सिस्टमको ठेक्का पाएको थियो।
अख्तियारले राहदानी विभागका कर्मचारी, परराष्ट्र मन्त्रालयका कर्मचारी सहित ठेक्का प्राप्त गरेका जर्मन कम्पनीका प्रतिनिधि सहितलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ।
म्युल्बाउअर आइडी सर्भिसेसका गेरहार्द माउरेर, पाभ्ली राकिक र नेपालका प्रतिनिधि मणिन्द्रराज मल्लविरूद्ध मुद्दा दायर गरिएको छ। यी तीन जनाका हकमा १ अर्ब ९० करोड ६९ लाख ५७ हजार ३२ रूपैयाँ बिगो कायम गरिएको छ। भेरोडोस कम्पनीका फाबियोला बेलरशेइम, फ्लोरियन पाकक्वेलिन र नेपाल प्रतिनिधि सिद्धार्थ थापाविरूद्ध पनि मुद्दा दायर भएको छ। उनीहरूका हकमा ८ अर्ब २२ करोड ३५ लाख ४ हजार ४४४ रूपैयाँको बिगो कायम गरिएको छ।