- सांसद मोहम्मद खालिदले रास्वपा पार्टीमाथि संघीयता खारेज गर्ने षडयन्त्र गरिरहेको आरोप राष्ट्रिय सभामा लगाए।
- खालिदले भने, संघीयता नेपाली जनताको बलिदानबाट आएको हो र यसलाई कमजोर बनाउने प्रयास नगर्नू।
- संघीयताको पक्षमा जनताले दिएको अभूतपूर्व विश्वासलाई कायम राख्न सरकार दृढतापूर्वक काम गरोस् भन्ने खालिदको धारणा छ।
काठमाडौँ- राष्ट्रिय सभाका सांसद मोहम्मद खालिदले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता नै खारेज गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले उक्त जिकिर गरेका हुन् ।
सांसद खालिदले संघीयता जनताले बलिदान गरेर ल्याएकाले त्यसलाई कसैले पनि कमजोर बनाउने दुश्साहस गर्न नहुने बताए । उनले संघीयताको पक्षमा उभिएर मत मागेकाले प्रधानमन्त्री बालेन्द्र साहलाई जनताले अभूतपूर्व मत दिएकाले त्यसको पक्षमा काम गर्नुपर्ने पनि बताए ।
सांसद खालिदले भने,‘संघीयता कसैको दयामायामा आएको होइन । यो नेपाली जनताले एकात्मक शासन विरुद्ध लडेर, बलिदानी दिएर, जेल गएर, मुद्दा खेपेर संघीयता ल्याएको हो । संघीयता सफल भएन, खर्चिलो छ । सयौ सांसद पाल्न गाह्रो छ । हात्ति पाल्नु जस्तो छ । आदि इत्यादि भ्रम फैल्याउँदा संघीयतालाई कमजोर पार्ने वा खारेज गर्ने कुरा उठिरहेको छ । यो जेनजी आन्दोलनपछि फागुन २१ गते निर्वाचनमा अहिलेका सम्माननीय प्रधानमन्त्री त्यतिबेलाका रास्वपाका वरिष्ठ नेता भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र साहजी जनकपुर पुग्नुभएको थियो । त्यहाँ उहाँले कामका लागि काठमाडौं जानु पदैन भनेर भन्नुभएको थियो । जनतालाई के लाग्यो भने अव त हामीलाई अव सबै यही नै हो भन्ने लागेर, यो मधेशको छोराले गर्छ भनेर अभूतपूर्व मत दिएका थिए । हामीले अहिले पनि आशा गरेको छौँ । किनभने कार्यकारी अधिकार उहाँको हातमा छ । संघीयताको खारेजी वा प्रदेश सभाको खारेजीमा नगई संघीयता कसरी बलियो हुन्छ ? अहिले सम्म यस्ता जातजाति पनि छन । जसको अधिकारको बारेमा हामीले अहिलेसम्म कुरा गरेका छैनौ । उनीहरुसम्म अधिकार पुर्याइन्छ । म सरकारबाट त्यत्तिनै आशा गरेर विदा लिन चाहन्छु ।’
सांसद खालिदले सरकारले संघीयताको पक्षमा दृढतापूर्वक काम गर्नुपर्ने बताए ।
भर्खरै
लोकप्रिय
