‘द्रूत’ बसले हावा खाएको काठमाडौँमा ‘ब्लु’ बसको ललिपप

‘द्रूत’ बसले हावा खाएको काठमाडौँमा ‘ब्लु’ बसको ललिपप
+
-
देशसञ्चार AI सारांश
  • चार वर्षअघि सञ्चालन गरिएको द्रूत बस सेवालाई आर्थिक अभावको कारणले व्यवसायीले स्थगित गरेका थिए।
  • ‘ब्लु बस’ नि:शुल्क सेवा सञ्चालनका लागि १०० दिनको योजना थियो, तर ८ वटा बसमात्र शुरु हुन लागेको हो।
  • ब्लु बस सञ्चालनको तयारीमा लोकप्रियता र पार्टी ब्राण्डिङको आरोप लागेर राज्यकोषको खर्चप्रति आलोचना भइरहेको छ।

काठमाडौँ– सार्वजनिक बसमा पनि नागरिकलाई भिआइपी सेवा दिने भन्दै चार वर्षअघि सञ्चालन गरिएको द्रूत बसले हावा खाइरहेको समयमा काठमाडौँमा फेरि ब्लु बस सञ्चालन गर्ने तयारी गरिएको छ।

२०८० असोज ३ गते संविधान दिवसका दिन सूर्यविनायक–रत्नपार्क सञ्चालन गरिएको द्रूत बस महिना दिन नहुँदै बन्द भएको थियो।

तामझामका साथ सडकमा करोडौँ खर्च गरेर रेड एरिया (रातो क्षेत्र जहाँ द्रूत बसले एम्बुलेन्स जस्तो सेवा पाउने) बनाएर बस सञ्चालन गरिए पनि आर्थिक अभाव देखाउँदै बस व्यवसायिले द्रूत बस सेवा महिना दिन नपुग्दै रोकेका थिए।

काठमाडौँमा द्रूत बस सेवाले हावा खाइरहेको समयमा फेरि दुईतिहाइ नजिकको रास्वपा नेतृत्व सरकारले महिलाहरूका लागि नि:शुल्क ‘ब्लु’ (निलो) बस सञ्चालन गर्दैछ।

काठमाडौँमा ब्लु बस सञ्चालन गर्ने तयारी गरिएपछि त्यसको बिरोध भएको छ।

चार बर्षअघि करिब चार करोड खर्च गरेर सञ्चालन गरिएको द्रूत बस सेवालाई तत्कालीन भौतिकमन्त्री प्रकाश ज्वालाले एक रुटमा मात्र नभई काठमाडौँका अन्य रुटमा पनि सञ्चालन गरिने बताएका थिए।

तर पछि एकै रुटमा पनि सडक साँघुरो, बिहान-बेलुका चार घण्टा मात्र बस सञ्चालन गर्दा यात्रु नपाउने र आर्थिक अभाव खेपेपछि बस व्यवसायीले सेवा स्थगित गरेर अन्य बससरह सञ्चालन गरेका थिए।

अहिले पनि द्रूत बसका लागि सडकमा बनाइएको ‘रेड एरिया’ को टाटा देख्न सकिन्छ।

अब त्यही टाटामाथि ब्लु बस सञ्चालन हुने भएको छ।

सरकारले १०० दिने कार्यसूचीमा २५ वटा ब्लु बस सञ्चालन गर्ने जनाएको थियो। १०० दिन पुगेको दिन एक वटा पनि बस सञ्चालन गर्न सक्ने अवस्थामा सरकार छैन।

साउन १ गतेदेखि काठमाडौँका केही रुटमा ८ वटा ब्लु बस सञ्चालन गरिने लागेको हो। त्यो पनि साझा यातायातको विद्युतीय बसलाई ब्लु बस बनाइने भएको छ। त्यसका लागि गृहकार्य भइरहेको छ।

यातायात व्यवस्था विभागकाअनुसार ब्लु बस बुढानीलकण्ठदेखि गोदावरीसम्म २ वटा, नागढुंगादेखि एयरपोर्टसम्म २ वटा तथा चक्रपथमा चार वटा बस सञ्चालन गर्न थालिएको छ।

बिरोधको सिकार बन्यो ‘ब्लु बस’

ब्लु बस नितान्त रास्वपाको ब्राण्ड हो। २०८० वैशाख १० गते भएको उपनिर्वाचनमा भारी मतसहित विजयी भएपछि सभापति रवि लामिछानेले १०० दिन पुगेको अवसरमा चितवनमा ब्लु बस सञ्चालन गरेका थिए।

सार्वजनिक बसलाई भाडामा लिएर रास्वपाले सञ्चालन गरेको उक्त बसलाई सरकारमा पुगेपछि पनि निरन्तरता दिँदै सातै प्रदेशमा सञ्चालन गर्न लागिएको हो। तर ब्ल बस सञ्चालनका लागि राज्यकोषबाट ठूलो रकम खर्च गर्ने तयारी छ।

महिलाहरूका लागि नि:शुल्क भनिएको ब्लु बसको आवश्यक्ति कति हो भन्नेसमेत अध्ययन नगरी लोकप्रियताका लागि ब्लु बस सञ्चालनको तयारी भइरहेको छ।

१०० दिन मा ब्लु बस सञ्चालन गर्ने घोषणा गरेको रास्वपा सरकारले १०० ढिला गरी ८ वटा बसबाट सेवा शुभारम्भको तयारी छ।

ब्लु बस सेवालाई लिएर बिरोध भइरहेको छ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले ब्लु बस राज्यको पैसाले चलाउने कि रास्वपाको पैसाले चलाउने भन्दै सामाजिक सञ्जाल फेसबुकबाटै प्रश्न गरेका छन्।

राज्यको पैसाबाट चल्ने हो भने निश्चित पार्टीको लोगो प्रयोग गर्नु भ्रष्टाचार होइन भन्दै पनि उनले प्रश्न गरेका छन्। ‘होइन यो ब्लु बस राज्यको पैसाले चल्ने हो कि रास्वपा पार्टीले चलाउने हो? राज्यको पैसाले चल्ने हो भने निश्चित पार्टीको लोगो प्रयोग गरी चलाउनु पनि भ्रष्टाचार हो?’ उनले फेसबुकमा लेखेका छन्।

एमालेका महासचिव शंकर पोखरेलले ब्लु बस सेवलाई लिएर आश्चार्य प्रकट गर्दै विरोध गरेका छन्। उनले फेसबुकमा लेखेका छन्– ‘पूर्ववर्ती सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न साझा यातायातलाई उपलब्ध गराएका बसको रङ बदलेर ‘ब्लु बस’ सञ्चालन गर्ने रे!?’

एमालेकै नेतृ शान्ता चौधरीले ब्लु बस सञ्चालन गर्न लागिएको हो भने गम्भीर समीक्षा गर्नुपर्ने बताएकी छन्। ‘भइरहेको साझा बसलाई ब्लु बस बनाएर त्यसको खर्च राज्यकोषबाट व्यहोर्ने भन्ने कथित निर्णय यदि सत्य हो भने, यो गम्भीर समीक्षा हुनुपर्ने विषय हो’, उनले लेखेकी छन् ‘भरतपुरमा चलेको ब्लु बसको अनुभवबाट पनि पाठ सिक्न आवश्यक छ। विगतका प्रयासहरूको परिणाम मूल्याङ्कन नगरी उही शैली दोहोर्याउनु समाधान होइन।’

चौधरीले बस सेवा सञ्चालनलाई लिएर सत्तालाई भद्दा मजाक बनाउने निर्णयसमेत भनेकी छन्। ‘राज्यकोष जनताको पसिनाको कमाइ हो। त्यसको प्रयोग लोकप्रियता प्रदर्शनका लागि होइन, दीर्घकालीन, पारदर्शी र प्रभावकारी सार्वजनिक सेवाका लागि हुनुपर्छ। सत्तालाई नै भद्दा मजाक बनाउने निर्णयले अन्ततः देश र जनताको हित गर्दैन’, उनले भनेकी छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामप्रसाद सापकोटा दीपशिखाले साझा यातायातको बसलाई ब्लु बस बनाउन लागिएको भन्दै आपत्ति जनाएका छन्। उनले लेखेका छन्– ‘२०७३/७४ सालमा तत्कालीन प्रधानमन्त्री कमरेड प्रचण्डले उद्घाटन गरेका साझा यातायातका ३० वटा नयाँ अशोक लेल्याण्ड बस आजसम्म नियमित सेवामा छन्। उद्घाटनपछि उहाँ स्वयं पुल्चोकदेखि सिंहदरबारसम्म साझा बसमै यात्रा गर्नुभएको थियो। अहिले तिनै बसको रंग मात्र फेरेर ‘ब्लु बस’ का नाममा नयाँ उपलब्धि देखाउने प्रयास भइरहेको छ। उखानै छ—“…गर्नेलाई भन्दा देख्नेलाई लाज।” अब १०० दिनका १०० काममध्ये यहीलाई पनि एउटा उपलब्धि भनेर प्रचार गर्न मात्रै बाँकी रह्यो।’

नेकपाकै नेतृ बबिता पाण्डेले महिलाहरूले भाडा तिर्न नपर्ने गरी गरिएको निर्णयको विरोध गरेकी छन्।

उनले फेसबुकमा लेख्दै महिलाका लागि नि:शुल्क बस सेवा भनिएकोमा महिला पुरुषबीचको विभेदका रुपमा अर्थ्याएकी छन्। ‘काठमाडौँमा साउन १ गतेदेखि ‘ब्लु बस’ सञ्चालनमा आउने कुरा हामी आम नेपालीका लागि खुसीको विषय भए पनि सामाजिक सञ्जालमा चर्चा चलेजस्तै “महिलाहरूले भाडै तिर्न नपर्ने” भन्ने नीतिप्रति मेरो गम्भीर आपत्ति छ। आज देशको शीर्ष तहमा महिलाहरू पुगिसक्नुभएको छ र हरेक क्षेत्रमा महिलाहरू पूर्ण रूपमा सक्षम र आत्मनिर्भर हुनुहुन्छ, यस्तो अवस्थामा राज्यले नै महिला र पुरुषबीच किन यो स्तरको विभेद गरिरहेको छ? महिला र पुरुष दुवै यस देशका समान नागरिक हुन् र नागरिक भएको हैसियतले राज्यले दिने सेवा र सुविधामा दुवैको बराबर हक हुनुपर्दछ। मलाई महिला र पुरुषबीच गरिने यस्तो विभेद पटक्कै मन पर्दैन, त्यसैले समानताको आधारमा राज्यले दुवैलाई दया वा सहुलियत होइन, बराबर सेवा र अधिकार प्रदान गरोस् भन्ने मेरो जोडदार माग छ’, उनले लेखेकी छन्।

सामाजिक सञ्जाल प्रयोग कर्ता रमिता कुमारी साह सिंहले ब्लु बस निशुल्क भन्दा सुरक्षित, भरपर्दो र सम्मानजनक यात्राको वातावरण हुनुपर्ने बताएकी छन्। ‘ब्लु बस सेवा नि:शुल्क हुनुभन्दा पनि सुरक्षित, भरपर्दो र सम्मानजनक यात्रा वातावरण हुनु अझ आवश्यक छ’, उनले लेखेकी छन् ‘महिलाले कुनै डर वा असहजता बिना निर्धक्क भएर यात्रा गर्न सक्ने व्यवस्था होस्। प्रत्येक बसमा सिसिटिभी क्यामरा जडान गरी यात्रुको सुरक्षा सुनिश्चित गरियोस्। सुरक्षित यात्रा नै सबैभन्दा ठूलो सुविधा हो।’

अर्की सामाजिक सञ्जाल प्रयोगकर्ता अन्जना पाठक काठमाडौँमा निशुल्क बस सञ्चालनलाई लिएर दुर्गम र सुगमका नागरिकबीच विभेद भएको बताएकी छन्। ‘बालेनको ब्लु बस सहरका धनीका लागि, हर्क झोलुङ्गे पुल दार्चुला जस्तो बिकट ठाउँका जनताको लागि। राज्यले तोकेको कर सबै ठाउँका जनताले त तिर्नैपर्छ तर पनि किन सहरमा चैं सुबिधामाथि सुबिधा, बिकटका जनताहरूको लागि चैं सिटामोल किन्न पनि घन्टौँ हिडेर जानु पर्ने’, उनले लेखेकी छन्, ‘यो त केपी ओलीको टावरको कथा जस्तो भएन र भन्या?’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…