- यस वर्ष सुरु भएपछि २,७२१ विपदजन्य घटनामा १२७ जनाले ज्यान गुमाएका छन् र ७७३ जना घाइते भएका छन्।
- सर्पदंशका ३९८ घटनामा २३ को मृत्यु र ३७५ घाइते भएका छन्, जबकि आगलागीका ८३० घटनामा १७ को मृत्यु भएको छ।
- बाढी, पहिरो, भारी वर्षा, डुङ्गा पल्टिएर, तथा अन्य कारणबाट पनि मानवीय क्षति भएको प्राधिकरणले जानकारी दिएको छ।
काठमाडौँ- यस वर्ष सुरु भएपछि (वैशाख १ देखि असार १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल दुई हजार ७२१ विपदजन्य घटनामा १२७ को मृत्यु भएको तथा ७७३ जना घाइते भएका छन् ।
ती विपदमा तीन हजार ७२२ परिवार प्रभावित भएको पनि प्राधिकरणले आज सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ । सबैभन्दा बढी सर्पदङ्शका ३९८ घटनामा परेर २३ जनाको मृत्यु भएको छ भने ३७५ जना घाइते भएका छन् ।
यस्तै लेक लागेका ५४ घटनामा २१ जनाको मृत्यु र ३४ जना घाइते तथा चट्याङ्का २०५ घटनामा १९ जनाको मृत्यु र ९८ जना घाइते भएका छन् । यस्तै सबैभन्दा बढी घटना भने आगलागीका भएका छन् । आगलागीका ८३० घटनामा १७ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् ।
जनावरको आक्रमणका १४७ घटनामा १४को मृत्यु र ८२ जना घाइते भएका छन् । हावाहुरीका ४७४ घटना भएका र ती घटनामा परेर १३ जनाको मृत्यु तथा ६७ जना घाइते भएका पनि प्राधिकरणले जानकारी दिएको छ ।
यस्तै बाढी, पहिरो, भारी वर्षा, डुङ्गा पल्टिएर, वन डढेलो तथा हिउँ पहिरोमा परेर मानवीय क्षति भएको पनि प्राधिकरणले जानकारी दिएको छ ।
प्रवक्ता महतका अनुसार पछिल्लो २४ घण्टामा मात्रै विभिन्न २७ जिल्लामा ३१ वटा विपदका घटना भएको र ती विपदमा परेर एक जनाको मृत्यु भएको तथा १५ जना घाइते भएका छन् ।
भर्खरै
लोकप्रिय
