- त्रिभुवन विश्वविद्यालयले भारतका चार विश्वविद्यालयबाट जारी शैक्षिक प्रमाणपत्रको समकक्षता ३५ दिने सूचना पछि रद्द गरेको छ।
- सीएमजे युनिभर्सिटी लगायतका विश्वविद्यालयका प्रमाणपत्रलाई अवैधानिक भन्दै आरम्भ गरिएको छानबिनपछि समकक्षता खारेज गरिएको हो।
- समकक्षता रद्द हुने प्रमाणपत्रमा वाणिज्य, कला, इन्जिनियरिङ, कानुन, फिजियोथेरापी लगायत विषयका स्नातक र पीएचडी उपाधि छन्।
काठमाडौं- त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले भारतका चार विश्वविद्यालयबाट जारी गरिएका शैक्षिक प्रमाणपत्रको समकक्षता रद्द गरेको छ।
छानबिन समितिको सिफारिस र ३५ दिने सार्वजनिक सूचनापछि प्राप्त कागजातको मूल्यांकनका आधारमा यसअघि प्रदान गरिएको समकक्षता खारेज गरिएको केन्द्रले सूचित गरेको छ।
सूचनाअनुसार भारतका सीएमजे युनिभर्सिटी, टेक्नो ग्लोबल युनिभर्सिटी (मेघालय), साङ्गाई इन्टरनेसनल युनिभर्सिटी (मणिपुर) र प्रज्ञान इन्टरनेसनल युनिभर्सिटी (झारखण्ड) बाट प्राप्त शैक्षिक योग्यताका आधारमा दिइएका समकक्षता प्रमाणपत्र रद्द गरिएका हुन्।
पाठ्यक्रम विकास केन्द्रका अनुसार समकक्षता रद्द गर्ने प्रक्रियाअन्तर्गत गोरखापत्र दैनिकमार्फत ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो।
कागजात तथा प्रमाणहरूको परीक्षण गर्दा समकक्षता यथावत राख्नुपर्ने कुनै विश्वसनीय आधार नदेखिएपछि त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षतासम्बन्धी विनियम, २०८२ को विनियम २१ बमोजिम समकक्षता रद्द गर्ने निर्णय गरिएको केन्द्रले बताएको छ।
भारतको सरकारी निकायले ती विश्वविद्यालयका शैक्षिक योग्यतालाई अवैधानिक भनेपछि त्रिविले आफूले दिएको समकक्षताबारे छानबिन गर्न समिति बनाएको थियो ।
रद्द हुनेमा वाणिज्य, कला, सिभिल इन्जिनियरिङ, फिजियोथेरापी, कानुन, कम्प्युटर एप्लिकेसन तथा व्यवस्थापन, क्लिनिकल बायोकेमिस्ट्री, क्लिनिकल माइक्रोबायोलोजी, राजनीति शास्त्रलगायत विषयमा स्नातक तथा विद्यावारिधि (पीएचडी) उपाधि प्राप्त गरेका व्यक्तिहरू रहेको पनि केन्द्रले जानकारी दिएको छ।
भर्खरै
लोकप्रिय
