- सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै माजिद अन्सारीले कानुनी लडाइँ लड्ने घोषणा गरेका छन्।
- १२ जुलाई २०२६ मा अन्सारी बाढी प्रभावित भूमिहीन परिवारको सहयोगका लागि कीर्तिपुर पुगेका थिए।
- अस्पतालबाट डिस्चार्ज भएपछि अन्सारीले आफ्नो जीवन र स्वतन्त्रताको लडाइँमा समर्थन दिने संस्थाहरूलाई धन्यवाद व्यक्त गरे।
काठमाडौँ — कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीहरूको मानवीय व्यवस्थापनका लागि पुगेका बेला प्रहरी नियन्त्रणमा परेका जेनजी आन्दोलनका अभियन्ता माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अस्पतालबाट डिस्चार्ज भएलगत्तै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफूमाथि भएको नियोजित घेराबन्दी र चरम यातना विरुद्ध कानुनी लडाइँ लड्ने घोषणा गरेका हुन् ।
गत असार २७ गते शनिबार (१२ जुलाई २०२६) का दिन कीर्तिपुर नगरपालिका-१० सुन्दरीघाटस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि प्रभावित बनेका भूमिहीन परिवारको सहयोगका लागि अन्सारी आफ्ना साथीहरूसहित त्यहाँ पुगेका थिए ।
सोही क्रममा नेपाल प्रहरीले एक गैर-निर्वाचित व्यक्तिको आदेशमा आफू र आफ्ना साथीहरूलाई चारैतिरबाट घेरा हाली अमर्यादित राजनीतिक भाषा प्रयोग गर्दै कुटपिट गरेको उनले आरोप लगाएका छन् । क्यामेराले नदेख्ने गरी करिब १०–१२ जना प्रहरीले लछारपछार गर्दै गम्भीर घाइते बनाएको र गैरकानुनी रूपमा बन्दी बनाएको उनले उल्लेख गरेका छन् ।
कीर्तिपुर प्रहरी वृत्तमा रहँदा चोटका कारण स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल हुँदै महाराजगञ्जस्थित त्रि.बि. शिक्षण अस्पताल (टिचिङ) लगिएको थियो । उपचारका क्रममा समेत गृह मन्त्रालय र नेपाल प्रहरीको प्रत्यक्ष निगरानी र “माथिको आदेश” भन्दै मेडिकल हिस्ट्रीमा ‘प्रहरी कुटपिट’ भन्ने शब्द समेत लेख्न नदिन खोजिएको गम्भीर खुलासा उनले गरेका छन् ।
अस्पतालको क्याबिन भित्रै सादा पोसाकका प्रहरी आएर धम्क्याएको र तत्काल जमानी कागजमा हस्ताक्षर नगरे अभद्र व्यवहारको मुद्दा चलाउने भनी मानसिक तनाव दिएको उनले बताएका छन् ।
शारीरिक तथा मानसिक यातनाका बीच आफ्नो जीवन र स्वतन्त्रताको लडाइँमा साथ दिने वरिष्ठ अधिवक्ता, अधिवक्ता, कानुनी व्यवसायी, प्रतिनिधिसभा सदस्य, नेपाल ल क्याम्पसका सिनियर तथा सहपाठी कानुनका विद्यार्थीहरूप्रति उनले आभार प्रकट गरेका छन् ।
साथै राष्ट्रिय मानव अधिकार आयोग, मधेशी आयोग, मुस्लिम आयोग, एम्नेस्टी इन्टरनेशनल नेपाल, एडभोकेसी फोरम, विभिन्न राजनीतिक दलका नेता, विद्यार्थी आन्दोलनका साथीहरू, नागरिक समाज र विशेष गरी जेनजी पत्रकारहरूसहित सम्पूर्ण सञ्चार क्षेत्रलाई उनले हार्दिक धन्यवाद दिएका छन् ।
हाल चिकित्सकको सल्लाह बमोजिम २-३ दिन पूर्ण रूपमा बेड रेस्टमा रहने जानकारी दिँदै अन्सारीले स्वास्थ्य अवस्था सामान्य भएपछि सार्वजनिक रूपमा प्रस्तुत हुने बताएका छन् ।
आफूमाथि भएको दमन र यातना विरुद्धको आगामी कानुनी लडाइँमा साथ दिन उनले सम्पूर्ण कानुन व्यवसायी, पत्रकार, मानव अधिकार रक्षक तथा नागरिक समाजसँग हार्दिक अपिल समेत गरेका छन् ।
भर्खरै
लोकप्रिय
