किसानलाई विज्ञको सुझाव

‘धान पाकेको भएपनि कम्तीमा बिहीबारसम्म कटाई नगर्नु होला’

काठमाडौँ – धान पाकेकै भए पनि अझै केही दिन कटाई नगर्न किसानलाई धानबाली विज्ञ तथा मौसमविदले सुझाव दिएका छन् ।

पाकेको तर नकाटिएको धानबाली कटाईका लागि तत्काल हतारो नगर्न विज्ञले सुझाव दिएका हुन् ।

गएको आइतबारदेखि देशका अधिकांश क्षेत्रमा लगातार जस्तो पानी पर्दा विभिन्न स्थानमा काटिएको धानको पाँजा डुब्दा किसान चिन्तामा छन् ।

‘काटेर खेतमा पाँजा सुकाउनका लागि राखिएको धान त डुब्यो तर नकाटिएको धानबालीका लागि तत्काल हतारो नगरौँ’, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का धानबाली विज्ञ डा. सुशील सुवेदीले भने, ‘मौसमलाई हेरेर पानी पर्न छोडेपछि मात्रै बाली काट्नु उपयुक्त हुन्छ ।’

वर्षासँगैकाे हावाहुरीले धानबाली ढलाएको भएपनि केही दिन त्यसै छोड्दा खासै नोक्सान नहुने उनले बताए ।

‘बोट ठाडै रहेकोलाई त समस्या हुँदैन । केही समस्या हुने भनेको ढलेको धानबालीका लागि हो, तापक्रम कम नभइसकेकाले केही दिन ढलेको धानलाई पनि यो पानीले खासै बिगार गर्दैन’, डा. सुवेदीले भने, ‘तर खेतमा पानी जम्न भने दिनु हुँदैन । धानबाली ढलेको खेतमा पानी जम्न नदिनका लागि निकास निकाल्ने वा वरपार खाडल खनेर जमेको पानी त्यहाँ जाने व्यवस्था गर्नु उपयुक्त हुन्छ ।’

कटाई गरी डुबानमा परेको धानका पाँजालाई निकालेर घरको पाली वा टाँडी खेतमा लैजान पनि उनले सुझाव दिएका छन् । ‘पानीको निकास छ भने गह्रामा जम्न नदिने, पाँजाहरु आली वा ओभानो ठाउँमा राख्दा बाला उम्रिने वा मकाउने समस्या कम गर्न सकिन्छ ।’

अहिले तराईदेखि पहाडसम्मै धानबाली हुने क्षेत्रमा मध्यम अवधिमा पाक्ने धान कटाईको समय भएको छ । ‘छिटो पाक्ने धानबाली यसअघि नै कटाई गरी किसानले भित्र्याएका छन् । अहिले परेको पानीले समस्या गरेको भनेको मध्यम अवधिमा पाक्ने धानबालीलाई हो । कटाई गरिएको छैन भने केही दिन नकाट्नु नै उपयुक्त हुन्छ’, डा. सुवेदीले भने, ‘ढिला पाक्ने धानबालीलाई भने अहिलेको पानीले खासै असर गरेको छैन । लामो समय पानी पर्‍यो भने ढलेको धानमा समस्या आउन सक्छ, तर पानी जम्न नदिएमा क्षति कम भन्दा कम गर्न सकिन्छ ।’

मौसमविदले पनि किसानलाई कम्तीमा आउँदो बिहीबारसम्म पाकेको धानबाली नकाट्न सुझाव दिएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आउँदो बिहीबारदेखि मौसम बिस्तारै सुधार हुँदै जाने देखिएको छ ।

‘अहिलेसम्मको अवस्था विश्लेषण गर्दा आउँदो बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने देखिन्छ । त्यसको अर्थ पानी पर्न पूर्णरुपमा रोकिने भन्ने होइन तर अहिलेको जस्तो पर्दैन’, जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मानन्धरले भनिन्, ‘किसानहरुले पाकेको छ भने पनि धानबाली कम्तीमा बिहीबारसम्म कटाई नगर्न सुझाव दिन्छौँ । मौसम सम्बन्धी अध्यावधिक जानकारी लिएर मात्रै बाली भित्र्याउने प्रक्रिया थाल्नु पर्छ ।’

काटाईको मुखैमा आएका बेला हावाहुरीसँगै परेको पानीको कारण चितवनमा ढलेको धानबाली ।

सम्भव भएमा कटाई गरिएको धानबालीलाई प्लाष्टिकसहितको ओत लगाउन सकिने वा पानी नजमेको ठाउँमा राख्न सकिने उनले बताइन् । तर धानबाली ढलेकै भए पनि अहिले कटान गर्नु उपयुक्त नहुने मौसमविद् मानन्धरले बताइन् । ‘बिहीबारदेखि मौसम सुधार हुने देखिएको छ । त्यति बेलासम्म किसानहरुले पर्खनु उपयुक्त हुन्छ ।’

बंगालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेकाले अहिले बदली तथा वर्षा भइरहेको हो ।

अहिले देशका अधिकांश भू–भागमा सामान्य बदली रही देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा समेत भएको छ ।

लगातारको वर्षाका कारण तराईका विभिन्न जिल्लामा कटान गरिएको धानबालीमा क्षति पुगेको छ।

कात्तिक २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्