प्रकाशकीय

तपाईँको समर्थनले हामीलाई प्रेरणा दिनेछ

देशसञ्चारले आफ्नो व्यावसायिक यात्राका कठीन र प्रारम्भिक पाँच वर्ष पूरा गरेको छ। पत्रकारितालाई धर्म मान्दै त्यसलाई समाज, राष्ट्र तथा क्षेत्र र विश्वसँग जोड्ने हाम्रो प्रयासले मुलुकभित्र सम्मान तथा चर्चा पाएको अनुभूति, अनुभव र गर्व हामीले प्राप्त गरेका छौँ।

अठोट र संकल्पको यो यात्रामा अल्पसंख्यामा पर्नु, पूर्वाग्रह र बाह्य उक्साहटबाट ‘सहकर्मीहरू’कै ठूलो जमात विचलित देखिनु, आन्तरिक राजनीतिमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको कथित अग्रगामी खोल ओढेर सार्वभौमसत्ता तथा नेपाली जनताको सामूहिक आत्मनिर्णयको अधिकारमाथि विदेशी लहैलहैमा सम्झौता गर्नु, संसदमा तेस्रो ठूलो दलको नेतृत्वको सरकार बन्नु र राजनीति खण्डित हुनु र मुलुकको राहदानीले बाहिरी मुलुकमा हैसियत गुमाउँदै जानुजस्ता परिस्थिति देखिए। छिमेकी र टाढा जगतमा नेपाल र नेपाली हेपिनु अनि हाम्रा स्वनामधन्य ठूला नेताहरुमा नेपाली जनताको सम्मानभन्दा ठूला विदेशी शक्तिको आशीर्वादलाई आफ्नो जन्मसिद्ध भएको भ्रम हुनु, अर्थतन्त्र ओरालो लाग्नु र अझै पनि १२ बुँदेको जुठो मन्त्रलाई मुलुकको शान्ति, स्थिरता, स्थायीत्व, प्रजातन्त्रको सुदृढीकरण तथा आर्थिक सम्पन्नताको जग मान्दै अपनाइरहनुले हाम्रो भविष्य यो नेता र यो व्यवस्थामा सम्भव छैन भन्ने नबुझ्नु ठूलो दुर्घटनाको कारण बन्न सक्छ।

हामी आम जनतालाई तर्साएर हैन, मुलुकको क्षितिजमा मडारिएका काला बादलबारे जनतालाई सचेत गराउँदा यो मुलुकको भविष्य र अस्तित्व हामी सबैको जिम्मेवारी हो, आयातीत एजेण्डा बोक्ने केही ठेकेदारहरुको मात्र हैन भन्ने सन्देश दिन चाहन्छौँ।

हाम्रो विवेक र माटोप्रतिको समर्पणले हामीलाई विचलित हुने छुट दिँदैन। पछिल्लो समय देखिएको निषेधको राजनीति र ‘फुटाऊ र राज गर’ को राजकीय सिद्धान्त मुलुकलाई स्वीकार्य हुनु हुँदैन। ठूलो संख्यामा नेपाली जनताले यो कुरा बुझ्न थालेका छन् र हालै सम्पन्न निर्वाचन नतिजाले चुनावी पद्धतिको ढाँचा र प्राप्त विकल्पका आधारमा यसबारे स्पष्ट संकेत दिएका छन्।
निषेधको राजनीतिको अन्त र राजसंस्थाका प्रतिनिधिसहित सर्वपक्षीय समन्वय र राजनीतिक व्यवस्थापनमा आधारित पद्धतितर्फ मुलुक तत्काल अघि नबढेमा सामाजिक विखण्डन र राज्यको आधिकारिकताको पूर्ण पतन नेपाल र नेपालीको नियति बन्नेछ।

हामी आम जनतालाई तर्साएर हैन, मुलुकको क्षितिजमा मडारिएका काला बादलबारे जनतालाई सचेत गराउँदा यो मुलुकको भविष्य र अस्तित्व हामी सबैको जिम्मेवारी हो, आयातीत एजेण्डा बोक्ने केही ठेकेदारहरुको मात्र हैन भन्ने सन्देश दिन चाहन्छौँ।

हामी यो गरिरहने छौँ। हामीलाई र हाम्रो यो मान्यतालाई सबै हिसाबले समर्थन गर्ने हरेक व्यक्तिलाई हामी देशसञ्चार परिवारका सदस्य र हितैषी मान्छौँ र त्यो समर्थन यो मुलुककै अथवा देश र स्वस्थ सञ्चारका हितमा जानेछ।

पुस १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्